बनेपा । नेपाल परिवार नियोजन संघ काभ्रे शाखा, बनेपाको ४४औँ वार्षिक साधारणसभा आइतबार शाखा सभापति प्रकाश कायस्थको सभापतित्व तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख रमेश श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतका अतिथिहरूले परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा संस्थागत विकासका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
साधारणसभाले आगामी कार्यकालका लागि पुनम जोशीलाई शाखा सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी, कोषाध्यक्षमा विकास वैद्य निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा अञ्जना वैद्य श्रेष्ठ, रजनी वैद्य, अनु श्रेष्ठ, रूपा कर्माचार्य, ओमकाजी प्रजापति, निराकार श्रेष्ठ तथा युवा सदस्य रुद्र प्रजापति रहनुभएको छ ।
साधारणसभामा संस्थाको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि समेत छलफल गरी अनुमोदन गरिएको थियो । सहभागीहरूले परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह र समुदायमा जनचेतना अभिवृद्धिका लागि संस्थाले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया