• २०८३ असार ३० | Tue, 14 Jul 2026

देशभर मनसुनी गतिविधि सक्रिय, पूर्वी नेपालमा भारी वर्षाको जोखिम बढ्दै

देशभर मनसुनी गतिविधि सक्रिय, पूर्वी नेपालमा भारी वर्षाको जोखिम बढ्दै

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय बन्दै जाँदा वर्षाको तीव्रता पनि बढ्न थालेको छ । यद्यपि, देशका सबै क्षेत्रमा भने एकनासको वर्षा भएको अवस्था छैन ।

हाल कोशी प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । धरानको तरहरा वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा १०५ मिलिमिटर वर्षा मापन भएको छ, जुन भारी वर्षाको श्रेणीमा पर्छ । यस्तै, मधेश प्रदेशको सिराहा–सिन्धुली आसपासका क्षेत्रमा पनि उल्लेख्य वर्षा भएको छ । दुधौलीमा पछिल्लो ६ घण्टामा ७७.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । चितवन जिल्लाका विभिन्न स्थानमा समेत भारी वर्षा भइरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकाको मध्य तथा उत्तरी क्षेत्र, विशेषगरी बालाजु आसपासमा मध्यम वर्षा भएको छ । दिउँसो केही समय वर्षा कम हुने सम्भावना रहे पनि साँझदेखि भोलिसम्म पुनः भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । वर्षाको प्रणाली काठमाडौं वरपरका क्षेत्रमा पनि विस्तार हुँदै गएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको चुरे क्षेत्रमा मध्यम वर्षा भएपछि पथरिया नदीको जलसतह बढ्न थालेको छ । तर धनगढीदेखि पश्चिम कञ्चनपुरसम्म भने उल्लेख्य वर्षा भएको छैन । कैलालीको पूर्वी भाग लम्कीचुहा क्षेत्रमा मध्यम वर्षा जारी रहेको छ भने कोहलपुरदेखि दाङसम्म हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

समग्रमा आज र भोलि विशेषगरी देशको पूर्वी क्षेत्रमा मनसुन बढी सक्रिय रहने सम्भावना रहेको छ । लगातारको वर्षाका कारण बाढी, डुबान तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २९, सोमबार ०७:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP