• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मेलम्चीमा कोशेली घर सञ्चालनमा, स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा

मेलम्चीमा कोशेली घर सञ्चालनमा, स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा

मेलम्ची, सिन्धुपाल्चोक । स्थानीय कृषि तथा रैथाने उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा शुक्रबारदेखि ‘कोशेली घर’ सञ्चालनमा आएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कोशेली घरको उद्घाटन गर्दै यस केन्द्रमार्फत स्थानीय उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा बजार पहुँच सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यकताअनुसार स्थानीय उत्पादनलाई जिल्ला बाहिरसमेत बजार विस्तार गरिने बताउनुभयो ।

कोशेली घरमा ताजा फलफूल, तरकारी, घरेलु अचार, मह, विभिन्न परिकारका सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी, हर्बल सामग्री तथा हस्तकलाका वस्तुसहित स्थानीय रैथाने उत्पादनहरूको प्रत्यक्ष बिक्री–वितरण गरिने जनाइएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ‘फार्मदेखि किचनसम्म’को अवधारणा अनुसार उत्पादनलाई परिष्कृत गरी उपभोक्तासम्म पुर्‍याइने बताउनुभयो। उहाँका अनुसार उद्यमीहरूबीच अन्तरक्रिया गराई नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने योजना पनि रहेको छ ।

उहाँले सरकारी तथा निजी कार्यालयका कर्मचारी, पर्यटक, स्थानीय बासिन्दा र छिमेकी पालिकाका नागरिकलाई लक्षित गरी कोशेली घर सञ्चालन गरिएको जानकारी दिँदै प्रारम्भिक अनुमानअनुसार दैनिक हजारौँ ग्राहकले किनमेल गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्षहरू, शाखा प्रमुखहरू, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ८, शुक्रबार १२:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP