• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

गत आर्थिक वर्षमा काभ्रेबाट ११ हजार १०७ प्रतिलिपी नागरिकता जारी, नयाँ लिने ९ हजार १५७ जना

गत आर्थिक वर्षमा काभ्रेबाट ११ हजार १०७ प्रतिलिपी नागरिकता जारी, नयाँ लिने ९ हजार १५७ जना

ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत आर्थिक वर्षको साउनदेखि असारसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २३ जनाले आमाको नामबाट नागरिकता लिएका छन् । यसैगरि नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यसवर्ष पनि बढी देखिएको छ । गतवर्ष पनि यो संख्या उच्च नै थियो । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्म ९ हजार १५७ नयाँ नागरिकता जारी गरिएको छ । जसमा साउन महिनामा ८४४ नागरिकता जारी भए । भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मंसिरमा ९२९, पुसमा ४२८ वटा, माघमा ८६४ वटा, फागुनमा ४०१, चैतमा ५१८, वैशाखमा ८३२ वटा, जेठमा १ हजार ५५८ र असारमा १ हजार ९७ नागरिकता जारी भएको छ ।

यही अवधिमा नागरिकताको प्रतिलिपी लिनेको संख्या ११ हजार १०७ छ । साउनमा १ हजार १७४, भदौमा १ हजार ४२, असोजमा ५४४, कात्तिकमा ८५६, मंसिरमा ९३६, पुसमा ९७२ वटा, माघमा ९७९, फागुनमा ६४१ वटा, चैतमा ९०१, वैशाखमा ९६६, जेठ १ हजार ५८ वटा र असारमा १ हजार ३८ नागरिकताका प्रतिलिपी जारी भएका छन् । पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका छन् । कतिपय पुरानो नागरिकतामा त्रुटीहरु पनि फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । पहिले गाउँमा टोली गएर बनाएका नागरिकतामा कतै उमेर, कतै थर र कतै नामै गल्तीहरु पाइएका छन् । यी गल्तीहरु सुधार गर्नुपर्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको हो ।

गत साउनदेखि असारसम्मको अवधिमा नागरिकता परित्याग गर्नेको संख्या ५० रहेको छ भने सोही अवधिमा गैरआवासीय नागरिकता ४३ वटा जारी भएको छ । १० वटा नागरिकता रद्द र ९ वटा अंगिकृत नागरिकता जारी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको असारसम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको संख्या ३० हजार १४९ रहेको छ । साउन महिनामा मात्र यो संख्या ३ हजार ४५३ रहेको थियो । भदौमा २ हजार ८९७, असोजमा १ हजार ९६२ जनाले आवेदन दिएका थिए भने कात्तिकमा २ हजार २९२ जनाले आवेदन दिएका थिए । मंसिरमा २ हजार ७८९ जना, पुसमा २ हजार २४८, माघमा २ हजार ५८३, फागुनमा १ हजार ४५९ जना, चैतमा २ हजार १२३ जना, वैशाखमा २ हजार १६४ जना, जेठमा ३ हजार ३५५ र असारमा २ हजार ८२४ ले आवेदन दिएका थिए । यही अवधिमा ७ हजार १८९ वटा कार्ड वितरण भएका छन् । दलित र जनजाती परिचयपत्र ५४६ वटा जारी भएका छन् ।

यस्तै १३ हजार २०८ वटा राहदानीको आवेदन दर्ता भएको प्रशासनमा १२ हजार ७५८ कार्ड वितरण भएको छ । नाबालक परिचयपत्र ६१० वटा जारी भएको प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ११५ वटा मुद्दा दर्ता भएका छन् भने ९२ वटा फर्स्याैट भएका छन् । यस्तै ठाडो उजुरी २५० वटा दर्ता हुँदा २४० वटा फर्स्याैट भएका छन् । कार्यालयमा यसवर्ष २४ वटा नयाँ संघसंस्था दर्ता भएका छन्, २१३ वटा नवीकरण भएका छन् भने ५ वटा हातहतियार नवीकरण भएका छन् ।

यसैगरि कार्यालयबाट कारागार निरिक्षण ६ पटक, सरकारी कार्यालय अनुगमन ३३ पटक, प्रहरीलगायत सुरक्षा निकायको अनुगमन ३६ पटक, विकास आयोजना अनुगमन २५ पटक र संघसंस्था अनुगमन ५८ पटक गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबीचमा जिल्ला सुरक्षा समितिको बैठक ६७ पटक बसेको छ भने जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित बैठक १० पटक बसेको छ । कार्यालयले शहीद परिवार, द्वन्द्व पीडित परिवार र वैदेशिक रोजगार पीडित परिवारलाई १ करोड २१ लाख ८३ हजार ९८१ रुपैयाँ राहत वितरण गरेको छ । विपदमा परेकाहरुका लागि २८ लाख ७५ हजार राहत वितरण गरिएको छ ।

यो समय अवधिमा कार्यालयले कूल ९ करोड ११ लाख ९ हजार ४७९ रुपैंयाँ राजश्व संकलन गरेको छ । चालु खर्च ३ करोड २३ लाख ८९ हजार ६१४, पूँजीगत खर्च ४७ लाख ६ हजार १९७ र विविध खर्च ६ करोड ७९ लाख ९० हजार ६४ रुपैयाँ भएको छ । धरौटी विवरणबाट आम्दानी ३ करोड ६२ लाख ४६९ रुपैंयाँ प्राप्त भएको छ । धरौटी फिर्ताबापत २ करोड ३४ लाख २५ हजार ५०४ दिइएको छ । विशिष्ठ व्यक्तिको भ्रमण ३४५ पटक भएको छ ।

यसैगरि जिल्लाभर ७५२ वटा आपराधिक घटना भएका छन् । यस्ता घटनामा संलग्न ६५८ जना पक्राउ परेका छन् । जसमा ३ जनाको हत्या हुँदा १०१ वटा आत्महत्याका घटना भएका छन् भने प्राकृतिक प्रकोपका घटना २३ वटा भएका छन् । जसमा १२ जनाको मृत्यु भएको र ७ जना घाइते भएको कार्यालयले उल्लेख गरेको छ । सवारी दुर्घटनामा २६ जनाको मृत्यु र २५० जना घाइते भएका छन् ।

यसैगरि २७२ वटा पसल र फर्मको अनुमगन भएको र १७ वटालाई जरिवाना र कारबाही गरिएको छ । जरिवानाबापत १ लाख ६१ हजार संकलन भएको छ । ७७ वटा फर्म र पसलबाट सामान जफत गरिएको र जसको मूल्य २ लाख ६३ हजार ४२ रहेको पनि कार्यालयले जनाएको छ । यस अवधिमा कार्यालयले १५ वटा ड्रोन उडान अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित गर्न २०८२ जेठ २७ गतेबाट डिजिटल टोकन प्रणाली शुरु गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो र सहज बनाउन प्रयास गरिने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो । आफू काभ्रेमा आएको ८ महिना भएको अवस्थामा पनि धेरै विषयहरुमा सुधार गरिएको उहाँको दाबी छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १६, शनिबार ०८:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP