धुलिखेल, काभ्रे । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय धुलिखेलबाट साउन १ गतेयता साउन २० गतेसम्म विभिन्न प्रकारका रासायनिक मल गरी ३७ हजार ४१७ बाेरा बिक्री भएकाे छ ।
कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार याे अवधिमा युरिया २४ हजार ५१० बाेरा, डीएपी ११ हजार ९२८ बाेरा र पोटास ९७९ बाेरा बिक्री भएकाे छ । हाल कार्यालयमा युरिया ३७९ बाेरा, डिएपी १९६ बाेरा र पाेटास मल १ हजार ४२९ बाेरा बाँकी छ । कृषि सामग्री कम्पनी लिमिटेडले पर्याप्त मौज्दात रहेकाले किसानहरूलाई आवश्यकता अनुसार नजिकको सहकारी संस्थाबाट सहजरूपमा मल खरिद गर्न आग्रह गरेको छ ।
एक वर्षमा ११ हजार ६६८ मेट्रिक टन मल बिक्री
पछिल्ला केही वर्ष यता देशका धेरैजसो किसानको एउटै गुनासो छ, ‘खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन ।’ तैपनि सरकारले भने मल आयात र वितरण सहज भएको दाबी गर्दै आइरहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका लागि रासायनिक मल बिक्री वितरण गर्दै आइरहेको छ । यी चार जिल्लामा कम्पनीले गत आर्थिक वर्षमा ठूलो परिमाणमा मल बिक्री वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
०८२ साउनदेखि ०८३ असार मसान्तसम्म यस कम्पनीले चार जिल्लामा ११ हजार ६६८.७ मेट्रिक टन अनुदानको मल बिक्री गरिसकेको छ । जसमध्ये ८ हजार २५२.९ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । यही अवधीमा ३ हजार ५५.८५ मेट्रिक टन डिएपी र ३५९.९५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कार्यालयका प्रमुख आलोककुमार शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार चार जिल्लामध्ये सबैभन्दा बढी काभ्रे जिल्लामा बिक्री गरिएको छ ।
काभ्रेमा ५ हजार ५९७ मेट्रिक टन युरिया, २ हजार १७३ मेट्रिक टन डिएपी र २८७ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै सिन्धुपाल्चोकमा २ हजार ३९८ मेट्रिक टन युरिया, ८५१ मेट्रिक टन डिएपी र ७२ मेट्रिक टन पोटास मल बिक्री गरिएको छ ।
उता दोलखामा ४१ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३० मेट्रिक टन पोटास बिक्री भएको तथ्यांक छ भने यही समय अवधिमा रामेछापमा भने २१७ मेट्रिक टन युरिया, २० मेट्रिक टन डिएपी र ०.०६ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले कालाेटाेपी डटकमलाई उपलब्ध गराएकाे तथ्यांकमा जनाइएको छ ।
प्रतिक्रिया