• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मण्डनदेउपुरमा टीबी स्क्रिनिङ शिविर : दुई वडामा ३ जना सक्रिय बिरामी पहिचान

मण्डनदेउपुरमा टीबी स्क्रिनिङ शिविर : दुई वडामा ३ जना सक्रिय बिरामी पहिचान

ज्ञानमणि नेपाल कालाेटाेपी
मण्डनदेउपुर, काभ्रे । मण्डनदेउपुर नगरपालिकाका दुई वडामा सञ्चालन गरिएको क्षयरोग (टीबी) स्क्रिनिङ कार्यक्रमबाट तीन जना सक्रिय टीबीका बिरामी पहिचान भएका छन् । समुदायस्तरमै क्षयरोगको प्रारम्भिक पहिचान गर्ने उद्देश्यले नगरपालिकाको स्वास्थ्य शाखा र जन्त्र नेपालको सहकार्यमा सञ्चालित स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रमअन्तर्गत दुई वडामा तीन जना बिरामी पहिचान भएका हुन् ।

मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन स्वास्थ्य चौकीमा शुक्रबार सञ्चालन गरिएको एनसीडी (NCD) स्क्रिनिङ तथा एक्स–रे मार्फत टीबी स्क्रिनिङ कार्यक्रममा १ सय २४ जना सेवाग्राही सहभागी भएका थिए । परीक्षणका क्रममा शंकास्पद देखिएका १४ जनाको खकार (Sputum) नमुना संकलन गरिएकोमा दुई जनामा सक्रिय क्षयरोग पुष्टि भएको स्वास्थ्य चौकीले जनाएको छ । पहिचान भएका दुवै जना पुरुष रहेका छन् ।

त्यस्तै, मण्डनदेउपुर नगरपालिका–१२ स्थित ज्याम्दी स्वास्थ्य चौकीमा बिहीबार सञ्चालन गरिएको टीबी स्क्रिनिङ शिविरमा १ सय २१ जनाको छातीको एक्स–रे परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एक जनामा क्षयरोग पहिचान भएपछि उपचारसमेत सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा सहभागीमध्ये क्षयरोगको सम्भावना देखिएका थप ६ जनाको खकार नमुना संकलन गरिएको थियो । उनीहरूको थप परीक्षणपछि आवश्यक उपचार तथा परामर्श उपलब्ध गराइने स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेका अनुसार समुदायमै पुगेर क्षयरोग पहिचान गर्ने र बिरामीलाई समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यले यस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको हो । प्रारम्भिक चरणमै रोग पहिचान गर्न सकेमा उपचार प्रभावकारी हुने भएकाले समुदायस्तरमा नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङ आवश्यक रहेको उनले बताए । स्वास्थ्यकर्मीका अनुसार दुई साताभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, खोकीसँगै रगत आउने, ज्वरो आउने, राति अत्यधिक पसिना आउने, तौल घट्दै जाने, भोक कम लाग्ने, छाती दुख्ने तथा शरीरमा कमजोरी महसुस हुनेजस्ता लक्षण क्षयरोगका सम्भावित संकेत हुन सक्छन् । यस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

लक्षण नदेखिएका व्यक्तिमा समेत प्रारम्भिक अवस्थामा क्षयरोग पहिचान हुन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण हुने स्वास्थ्यकर्मीको भनाइ छ । समयमै पहिचान गरी उपचार सुरु गरेमा क्षयरोग निको हुने भएकाले समुदायका नागरिकलाई यस्ता स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

चण्डेनीमण्डन स्वास्थ्य चौकीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने मण्डनदेउपुर नगरपालिका स्वास्थ्य शाखा, जन्त्र नेपाल, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूप्रति धन्यवाद व्यक्त गरेको छ । स्वास्थ्य चौकी परिवारले आगामी दिनमा पनि समुदायलाई लक्षित गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न नगरपालिकाको स्वास्थ्य शाखासँग अपेक्षा गरेको जनाएको छ । दुईवटा स्वास्थ्य चौकीमा सञ्चालित कार्यक्रमबाट २ सय ४५ जनाको परीक्षण, २० जनाको खकार नमुना संकलन र तीन जना सक्रिय टीबी बिरामी पहिचान हुनु समुदायस्तरमा गरिने स्क्रिनिङ कार्यक्रमको प्रभावकारिताका रूपमा लिइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २९, शुक्रबार १६:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP