• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

डेडीथुम्का कला तथा संगीत सिर्जनालय स्थापनाका लागि वडा कार्यालयद्वारा शैक्षिक सामग्री सहयोग

डेडीथुम्का कला तथा संगीत सिर्जनालय स्थापनाका लागि वडा कार्यालयद्वारा शैक्षिक सामग्री सहयोग

मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडीथुम्का विद्यालयमा कला, संगीत तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘डेडीथुम्का कला तथा संगीत सिर्जनालय’ स्थापनार्थ वडा कार्यालयले विभिन्न सामग्री सहयोग गरेको छ । वडा कार्यालयले विद्यालयलाई बाद्यवादनका सामग्री, सांस्कृतिक पोसाक तथा दुई थान स्मार्ट टिभी उपलब्ध गराएको हो । यसबाट विद्यालयमा कला तथा संगीतसम्बन्धी गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्यालय परिवारले सामग्री सहयोगका लागि वडा नं. ९ का वडाध्यक्ष सिताराम श्रेष्ठ, वडा सदस्य एवं विद्यालय व्यवस्थापन समिति सदस्य विष्णुप्रसाद नेपाललगायत वडा कार्यालयको सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेको छ ।

विद्यालयका प्रधानाध्यापक शिवकुमार पौडेलले विद्यार्थीको सीप, कला र चरित्र निर्माणमा विद्यालय अघि बढिरहेको बताउँदै वडा कार्यालयको सहयोगले थप उत्साह मिलेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कला तथा संगीतसम्बन्धी गतिविधिले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै सिर्जनात्मक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

प्रधानाध्यापक पौडेलले इच्छाशक्ति भए स्थानीय तहले विद्यालय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उदाहरण मण्डनदेउपुर–९ को वडा कार्यालयले प्रस्तुत गरेको बताउनुभयो । विद्यालयका हरेक गतिविधिमा वडा कार्यालयले सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ रचनात्मक र प्रभावकारी सहयोगको अपेक्षा गर्नुभयो ।

विद्यालयमा कला, संगीत र सांस्कृतिक गतिविधिका लागि आवश्यक सामग्री उपलब्ध भएपछि विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा समेत उत्साह थपिएको विद्यालय परिवारले जनाएको छ । ‘डेडीथुम्का कला तथा संगीत सिर्जनालय’लाई विद्यार्थीको प्रतिभा पहिचान, संरक्षण र विकास गर्ने महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने लक्ष्य विद्यालयको रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३०, शनिबार ०७:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP