• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कुशादेवी माविका पूर्वविद्यार्थी मञ्चको बृहत् भेला तथा पुनर्मिलन कार्यक्रम सम्पन्न

कुशादेवी माविका पूर्वविद्यार्थी मञ्चको बृहत् भेला तथा पुनर्मिलन कार्यक्रम सम्पन्न

ज्ञानमणि नेपाल कालाेटाेपी

कुशादेवी, काभ्रे । पनाैती नगरपालिका वडानम्बर २ स्थित कुशादेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चको बृहत् भेला तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयबाट एसएलसी तथा एसईई उत्तीर्ण गरेका पूर्वविद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्दै विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यालयको विगत, वर्तमान अवस्था र आगामी शैक्षिक यात्राका विषयमा चर्चा गर्दै पूर्वविद्यार्थीहरूको ज्ञान, सीप, अनुभव र स्रोतलाई विद्यालयको विकाससँग जोड्नुपर्नेमा जोड दिइएको थियो ।

कुशादेवी माध्यमिक विद्यालयले हालसम्म ४६ वटा एसएलसी तथा एसईई ब्याचमार्फत ६ हजारभन्दा बढी विद्यार्थी उत्पादन गर्न सफल भएको जानकारी कार्यक्रममा दिइएको थियो । विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित भएका छन् । दर्जनौँ शैक्षिक संस्था सञ्चालनदेखि चिकित्सक, इन्जिनियर, सरकारी सेवाका उच्च तह तथा विभिन्न पेशा–व्यवसायमा योगदान पुर्‍याउने जनशक्ति उत्पादन गर्न विद्यालय सफल भएको कार्यक्रममा स्मरण गरिएको थियो । कतिपय पूर्वविद्यार्थीहरू सरकारी सेवाबाट अवकाशसमेत भइसकेको बताइएको छ ।

यही ऐतिहासिक योगदानलाई संस्थागत गर्दै विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले पूर्वविद्यार्थी मञ्च गठन गरिएको हो । तदर्थ समिति गठन भएको ३५ दिनमै मञ्च जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा दर्ता नं. २४२२ मा दर्ता भएको र हालसम्म २ सय ५० जना आजीवन सदस्य बनिसकेको जानकारी कार्यक्रममा दिइएको थियो ।

‘विद्यालयले सबैको विश्वास जित्न सक्नुपर्छ’
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी रहनुभएको थियो । कार्यक्रममा पूर्व शिक्षा सहसचिव दीपक शर्मा वाग्लेले विद्यालयले विद्यार्थी, अभिभावक र बाहिरी सरोकारवालाको विश्वास जित्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई विद्यार्थीमैत्री तथा बालमैत्री बनाउँदै अभिभावक र समुदायको विश्वासिलो शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयको प्रगति केवल शिक्षक र व्यवस्थापनको प्रयासबाट मात्र सम्भव नहुने भन्दै पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक डिन विनोदकुमार शर्मा, शिक्षासेवी डा. बलराम तिमल्सिना, प्रधानाध्यापक माधव दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापा, पूर्व प्रधानाध्यापक रमेश पौडेल, पनाैतीका पूर्वमेयर भीम न्याैपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कक्षा १० का विद्यार्थीलाई ५३ थान साइन्स क्याल्कुलेटर
पूर्वविद्यार्थी मञ्चका अध्यक्ष राजकुमार हुमागाईंले विद्यालयको शैक्षिक विकासमा पूर्व विद्यार्थीहरूको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि ५३ थान साइन्स क्याल्कुलेटर उपलब्ध गराउने घोषणा गर्नुभयो ।त्यसैगरी विद्यालयको कार्यक्रम हलमा आवश्यक पंखा जडान गर्ने प्रतिबद्धतासमेत अध्यक्ष हुमागाईंले व्यक्त गर्नुभएको छ । पूर्व विद्यार्थीहरूबाट विद्यालयको आवश्यकता पहिचान गरी क्रमशः सहयोग गर्दै जाने उहाँले बताउनुभयो ।

यस्तो बन्यो पूर्वविद्यार्थी मञ्चको कार्यसमिति
बृहत् भेलाले पूर्वविद्यार्थी मञ्चको कार्यसमितिलाई समेत अघि बढाएको छ । मञ्चको अध्यक्षमा राजकुमार हुमागाईं, उपाध्यक्षमा रामसुन्दर सापकोटा, सचिवमा सुदीप सापकोटा, कोषाध्यक्षमा दीपक लामिछाने र सह–सचिवमा भवानी आचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरूमा कुमार थापा, टंकप्रसाद हुमागाईं, प्रकाश बञ्जारा, सुभद्रा अधिकारी, हस्तबहादुर तामाङ, दिपेश गेलाल, महेश्वर थापा, सीता अधिकारी, जयराम थापा, पूर्णबहादुर श्रेष्ठ, इश्वरी सापकोटा र सुनिता के.सी. रहनुभएको छ ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष रामसुन्दर सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव सुदीप सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । मञ्चका अध्यक्ष राजकुमार हुमागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. अनन्त अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । पूर्वविद्यार्थीहरूको बृहत् सहभागिताले विद्यालयप्रतिको आत्मीयता र अपनत्वलाई पुनः उजागर गरेको सहभागीहरूले बताएका छन् । लामो समयपछि एउटै मञ्चमा भेला भएका पूर्वविद्यार्थीहरूले विद्यालयसँगको पुरानो सम्बन्धलाई पुनः जोड्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीको प्रतिभा विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वविद्यार्थी मञ्चले आगामी दिनमा विद्यालय र पूर्व विद्यार्थीबीच निरन्तर समन्वय कायम गर्दै पूर्वविद्यार्थीको अनुभव, दक्षता र स्रोतलाई विद्यालयको विकासमा परिचालन गर्ने लक्ष्य लिएको छ । हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको कुशादेवी माध्यमिक विद्यालयको शैक्षिक यात्रालाई अझ प्रभावकारी बनाउन पूर्वविद्यार्थी मञ्च महत्वपूर्ण सहयात्री बन्ने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३०, शनिबार १९:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP