• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

मण्डनदेउपुर-४ मा चितुवाले किसानका गाेठबाटै तीन वटा बाख्रा मार्याे, किसानहरू त्रसित

मण्डनदेउपुर-४ मा चितुवाले किसानका गाेठबाटै तीन वटा बाख्रा मार्याे, किसानहरू त्रसित

मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ मा चितुवाको आतंक बढ्न थालेकाे छ । चितुवाले स्थानीय कृषकका गोठमा पसेर बाख्रा मार्न थालेपछि किसानहरू त्रसित बनेका छन् ।

वडा नं. ४ का वडाध्यक्ष मैतेसिंह तामाङका अनुसार पछिल्लो समय यस क्षेत्रमा दैनिकजसो चितुवाले बाख्रा मारिरहेको छ । आइतबार बेँसी क्षेत्रमा नानीबाबु सुनारको एउटा बाख्रा र गत शुक्रबार विमल तामाङको एउटा बाख्रा चितुवाले मारेको उहाँले जानकारी दिनुभयो । तामाङका अनुसार आजै र्याले भन्ने ठाउँमा पनि चितुवाले एउटा बाख्रा मारेकाे छ ।  पछिल्लो दुई घटनासँगै चितुवाको आक्रमणबाट तीन वटा बाख्रा मरिसकेका छन् ।

वडाध्यक्ष तामाङले चितुवाको आतंक बढ्दै गएकाले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताउनुभएको छ । उहाँले वन्यजन्तु नियन्त्रणका लागि आवश्यक पहल गर्नुका साथै पीडित कृषकलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ ।

स्थानीयका अनुसार वरपरका क्षेत्रमा जंगल बढ्दै जाँदा गाउँबस्तीमा जंगली जनावरको त्राससमेत बढेको छ । विशेषगरी किसानहरू यसबाट बढी प्रभावित भएका छन् । खेतबारीमा लगाइएका बालीनाली बँदेल, बाँदर, दुम्सीलगायतका वन्यजन्तुले नष्ट गर्दै आएका छन् भने पछिल्लो समय चितुवाले गोठमै पसेर गाईवस्तु तथा बाख्रा मार्न थालेपछि कृषक थप चिन्तित बनेका छन् ।

स्थानीय कृषकहरूले वन्यजन्तुबाट भएको क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । साथै, बस्ती आसपास देखिने चितुवा लगायतका वन्यजन्तुलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उपयुक्त वन क्षेत्र वा निकुञ्जमा व्यवस्थापन गर्न सकेमा यस्ता घटना न्यूनीकरण गर्न सकिने उनीहरूको अपेक्षा छ ।

वडाध्यक्ष तामाङले चितुवाको गतिविधि बढेकाले कृषकहरूलाई आफ्ना पशुचौपायालाई सुरक्षित गोठमा राख्न तथा रातिको समयमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३१, आईतवार १९:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP