ज्ञानमणि नेपाल कालाेटाेपी
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३, वासुकीमा वासुकीमा नाग पञ्चमी मेला तथा भगवान् शिवको मूर्ति प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । चुनाताल खैंजडी भजन तथा सांस्कृतिक मञ्च, बनेपा–३ को आयोजनामा भएको कार्यक्रममा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बदन भण्डारीले विकास बाहिरबाट देखिएजस्तो मात्र नभई त्यसको प्रभाव र उपलब्धिसमेत महत्वपूर्ण हुने बताउनुभयो । सबै नागरिकलाई लाभ पुग्ने गरी विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय स्रोत–साधनको अधिकतम प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । नेपाल संस्कृतिमा धनी देश भएकाले यहाँ मनाइने सबै पर्वको आफ्नै महत्व रहेको उल्लेख गर्दै सांसद भण्डारीले नागदेवता र भगवान् शिवको महिमा निकै ठूलो रहेको बताउनुभयो । नागदेवता र भगवान् शिवको आशीर्वादले सबैलाई सत्मार्गमा लाग्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले आफू सबैको साझा प्रतिनिधि भएकाले विकास निर्माणमा कुनै किसिमको भेदभाव नगर्ने प्रतिबद्धता जनाउनुभयो । सांसद भण्डारीले बनेपा नगरपालिका–३ को धार्मिक, सांस्कृतिक तथा अन्य सम्भावनाको चर्चा गर्दै वडाको विकासका लागि प्राप्त अपेक्षालाई सम्बोधन गर्न आफूले पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले विकासका काम केही भए पनि अझै धेरै गर्न बाँकी रहेको बताउनुभयो । देशले ठूला मान्छे धेरै जन्माए पनि असल मान्छे जन्माउन नसकेको टिप्पणी गर्दै उहाँले सबै पक्ष मिलेर काम गरे असम्भव केही नरहेको धारणा राख्नुभयो । वासुकी क्षेत्रलगायत काभ्रेका विभिन्न स्थानमा धेरै सम्भावना भए पनि त्यसको महत्व उजागर गर्न नसक्दा ओझेलमा परेको उहाँको भनाइ थियो ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले विकास निर्माणका क्षेत्रमा काम गरिरहेको भए पनि सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । वडा नं. ३ को विकासका लागि सांसद भण्डारीसमक्ष आग्रह गर्दै उहाँले नगरपालिकाले आवश्यक सहयोग र सहकार्यका लागि हातेमालो गर्न सधैं तयार रहेको बताउनुभयो ।
बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले आयोजकलाई धन्यवाद दिँदै वासुकी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । नगरपालिकाले यस क्षेत्रका लागि विशेष कार्यक्रममार्फत काम गरिरहेको जानकारी दिँदै उहाँले सडक पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त प्रयासबाट मात्रै अपेक्षित विकास सम्भव हुने उहाँको भनाइ थियो । यस पटक वासुकी क्षेत्रका सडकमा बजेट विनियोजन नभएकोप्रति उहाँले गुनासोसमेत व्यक्त गर्नुभयो ।
पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारले धार्मिक पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै भावी पुस्तालाई समेत यसको महत्व बुझाउन आवश्यक रहेको उहाँको भनाइ थियो । बनेपा नगरपालिकाकी पूर्वउपप्रमुख रेखा सापकोटाले कुनै पनि काम सफल बनाउन स्पष्ट उद्देश्य र लक्ष्य आवश्यक हुने बताउनुभयो । वासुकी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई जोगाउँदै यसको विकास र प्रवर्द्धनका लागि सबैले सहयोग गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
कार्यक्रमअघि नै भगवान् शिवको मूर्ति प्राणप्रतिष्ठा गरिएको थियो । कार्यक्रममा स्थानीय प्रल्हाद दाहालले वासुकी नाग तथा यस क्षेत्रको धार्मिक महत्वका बारेमा जानकारी दिनुभएको थियो । उहाँले रत्नचुँडेश्वर महादेव र वासुकी नागसँग जोडिएका विभिन्न किंवदन्ती तथा जनविश्वासबारे चर्चा गर्दै जतिसुकै ठूलो विपद् आए पनि वासुकी नागले यस क्षेत्रको संरक्षण गरिरहेको स्थानीय विश्वास रहेको बताउनुभयो । यस्ता धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति तथा चुनाताल खैंजडी भजन समूहका अध्यक्ष देवीप्रसाद दाहालले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कालाेटाेपी डटकमसँगकाे कुराकानीमा बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेलगायत पत्रकारहरू, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । गायक रामहरि न्यौपानेको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । वासुकी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय सम्पदा संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा तीनै तहका सरकार तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको सन्देश कार्यक्रमले दिएको छ ।
प्रतिक्रिया