• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

०४५ भदौ ५ गते, आजै गएकाे थियाे शक्तिशाली भूकम्पः कस्ताे छ नेपालमा भूकम्पकाे इतिहास ?

०४५ भदौ ५ गते, आजै गएकाे थियाे शक्तिशाली भूकम्पः कस्ताे छ नेपालमा भूकम्पकाे इतिहास ?

ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । वि.सं. २०४५ भदौ ५ गते बिहान ५ बजे आजैका दिन पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको मापन ६.६ रेक्टरस्केल रहेको थियो । यो भूकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो ।

यसमा ७२१ जनाले ज्यान गुमाएका थिए । शक्तिशाली भूकम्पमा परि ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुनर्निर्माणका लागि पूर्ण क्षति भएका घरहरुलाई १० हजार रुपैंयाँ र आंशिक क्षति भएका घरहरुलाई ५ हजार रुपैंयाँ ऋण सहयोग गरेको थियो । पछि उक्त ऋणलाई अनुदान दिइएको थियो । त्यसयता नेपालमा धेरै भूकम्पहरु गए । ०७२ बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परि करिब ९ हजार जनाले ज्यान गुमाए भने हजारौं घाइते भएका थिए । त्यसको पराकम्पन अझै पनि गइरहेका छन् ।

नेपालमा गएका विनाशकारी भूकम्पहरू
नेपालमा बितेको एक शताब्दीभित्र ५ वटा ठूला र विनाशकारी भूकम्प गइसकेका छन् । जनधनको क्षतिका हिसाबले २०७२ वैशाख १२ गतेको भूकम्प सबैभन्दा विनाशकारी हो तर १९९० साल माघ २ गतेको भूकम्प त्योभन्दा निकै ठूलो हो । त्यसबाहेक २०४५ साल भदौ ५ गते गएको भूकम्पले पनि विशेषगरी नेपालको धरान शहरलाई गम्भीर क्षति पुर्याएको थियो । कम रेक्टरस्केलको भए पनि इपिसेन्टर नजिक घना आवादी भयो भने यसले ठूलो विनाश निम्त्याउन सक्छ भन्ने पनि ०४५ सालको भूकम्पले देखाएको छ ।

त्यसयता धेरै भूकम्पहरु गए । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई बिर्साइदिएको छ । तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै मानवीय र भाैतिक क्षति भएको भूकम्पको रुपमा लेखिएको छ । काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.४ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.६ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा ०६८ असोज १ गते गएको भुईंचालो (६.९ रेक्टर) पनि पर्छ ।

यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन् । ०६८ असोज १ गते गएको भुईंचालो विसं २०४५ मा गएको भुईंचालोभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्याएको पाइएन । वि.सं. १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र हजारौंले ज्यान गुमाएका थिए ।

भूकम्पीय इतिहास अनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभुईंचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईंचालो जाने गरेको पाइन्छ । नेपालमा वि.सं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भुईंचालो गएको इतिहास छ । इतिहासविद्हरुले नेपालको इतिहासमा वि.सं.१२१८ को भूकम्पलाई अभिलेखमा रहेको पहिलो विनाशकारी भूकम्प मानेका छन् ।

अझै पनि नेपालमा भूकम्प जान सक्छ । विशेषगरी पश्चिम नेपालमा यसअघि त्यति विनासकारी भूकम्प नगएकाले अब त्यस ठाउँमा ठूलो भूकम्प जान सक्ने विज्ञहरुले अनुमान गरेका छन् । यद्यपी प्राकृतिक प्रकोप कहाँ र कहिले जान्छ भन्नेमा भने यसै भन्न सकिने अवस्था रहँदैन ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ५, शुक्रबार ०६:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP