• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

जनै पूर्णिमाका दिन किन खाइन्छ क्वाँटी ?, यस्ताे छ यसको महत्व

जनै पूर्णिमाका दिन किन खाइन्छ क्वाँटी ?, यस्ताे छ यसको महत्व

काठमाडौं । जनै पूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

हरेक वर्ष जनै पूर्णिमा एवम् रक्षा बन्धनका दिन विशेष खाने कुरामा पर्दछ, क्वाँटी । अन्य पर्वहरूका आफ्नै विशेष परिकार भएजस्तै क्वाँटी पनि रक्षाबन्धनकाे विशेष परिकार हो । जुन स्वास्थ्यको हिसाबले पनि निकै उपयोगी र महत्वपूर्ण मानिन्छ ।

परापूर्वकालदेखि नै जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन रहेको बताइन्छ । ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाँति’ शब्दबाट बनेको भन्ने पनि भनाइ छ । जस अनुसार ‘क्वाँ’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप भएकाले यसलाई समास गरी ‘क्वाँटी’ भनिएको हो । यसकारण क्वाँटीको अर्थ गेडागुडीको ‘तातो सुप’ बुझ्न सकिन्छ ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंगलगायतका थरीथरीका गेडागुडीलाई टुसा उम्रने सफा पानीमा भिजाउने चलन छ । करिब चार दिन भिजाएर टुसा उम्रेपछि आजको दिन (रक्षाबन्धन एवम् जनै पूर्णिमा) विशेष तरिकाले पकाउने गरिन्छ ।

यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ । परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा ११ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधि छ । यसरी पूर्णिमाको दिन खाने विशेष परिकारले स्वास्थ्यको लागि पनि उपयुक्त रहेको बताइन्छ ।

यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने डाक्टरहरु बताउँछन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १२, शुक्रबार ०७:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP