• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

प्रधानमन्त्री राहत कोषमा ४ अर्ब ३८ करोड, संकलन हुने क्रम जारी

प्रधानमन्त्री राहत कोषमा ४ अर्ब ३८ करोड, संकलन हुने क्रम जारी

काठमाडौं । रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार रातिसम्म प्रधानमन्त्री राहत कोषमा चार अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ । यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो । यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली ) जम्मा भएको कार्यालयले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । सरकार उच्च प्राथमिकताका साथ खोज, उद्धार, राहत तथा पुनस्थापनामा जुटिरहेको छ । यस्तो विषम अवस्थामा स्वदेश र विदेश तथा विभिन्न संस्था र व्यक्तिबाट सरकारलाई सहयोग प्राप्त हुन थालिसकेको छ ।

हालसम्म केही देश, व्यक्ति तथा संस्थाले सहयोग गरिसकेको अवस्था छ भने केहीले सहयोगको प्रतिबद्धता स्वरुप रकम घोषणा गरिसकेका छन् । अर्थ मन्त्रालयका अनुसार हालसम्म एशियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता गरेको छ । यो रकम अनुदान हुने जनाइएको छ ।

विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जा स्वरुप १६७ मिलियन अमेरिकी डलरको घोषणा गरेको छ । यो रकम नेपालले अनुरोध गरेपछि प्राप्त हुने मन्त्रालयले जनाएको छ । यसैबीच अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेको छ भने अष्ट्रेलियाको सरकारले १ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरिसकेका छन् । त्यसैगरी एशियाली विकास बैंकले प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग रकम उपलब्ध गराउने भएको छ ।

साथै, भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको छ । चीन र अमेरिकाले गर्ने मानवीय सहायता वापत शनिबारसम्म सहयोग उपलब्ध गराउने छन् । अर्थ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रका लागि चीन सरकारले ३० बेलीबिज्र सहयोग गर्ने घोषणा गरेको छ । साथै चीनले दुई हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ पनि सहयोग गर्नेछ ।

स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्रयाङ संयुक्त राष्ट्र संघको व्यवस्थापनमा खर्च गर्ने गरी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने जनाएको छ । रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १३, शनिबार ०७:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP