कालोटोपी डटकम
काभ्रे । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनाैतीले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सहकारीले राहत तथा उद्धारका लागि उक्त रकम प्रदान गरेको हो ।
सहकारीका अनुसार नेपाल सरकारले राहत तथा उद्धारका लागि गरेको सहयोग आह्वानलाई आत्मसात् गर्दै संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार तथा कर्मचारीहरूको समेत योगदानसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको ब्यहोरा शेयर सदस्यहरूलाई जानकारी गराइएको छ ।
सहकारीले विपद्को कठिन घडीमा प्रभावित परिवारको पीडामा साथ दिनु मानवीय तथा सामाजिक दायित्व भएको उल्लेख गरेको छ । सहयोग रकमबाट विपदबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने विश्वाससमेत व्यक्त गरिएको छ ।
विज्ञप्तिमा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति सहानुभूति प्रकट गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरिएको छ । सहकारीका अध्यक्ष मुकुन्द शर्माद्वारा साेमबार जारी गरिएको विज्ञप्तिमार्फत उक्त सहयोगको जानकारी सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया