सिन्धुपाल्चोक । शिक्षक कर्मचारीहरुको सहभागितामा सञ्चालित शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिन्धुपाल्चोकको १२औँ वार्षिक साधारण सभा शनिबार मेलम्चीमा सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०८२/८३ मा गरेका गतिविधि, आर्थिक प्रगति तथा आगामी कार्ययोजनामाथि सभामा छलफल गरिएको थियो ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । संस्थाका विभिन्न प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा शेयर पुँजीमा १६.०७ प्रतिशत र बचत सङ्कलनमा १५.५७ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा ऋण लगानीमा भने २.२२ प्रतिशत कमी आएको र ऋणको भाखा नाघेको हिस्सा ४.३९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले शिक्षक तथा विद्यालय कर्मचारीको आर्थिक हितलाई केन्द्रमा राख्दै बचत तथा ऋण सेवाका साथै विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । SEE तथा SLC मा उत्कृष्ट विद्यार्थीलाई सम्मान, सदस्य तथा परिवारमा मृत्यु हुँदा सहयोग, विपद् तथा सामाजिक कार्यमा सहयोगलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । सहकारीले पछिल्लो समय प्रविधिमैत्री सेवा विस्तारलाई समेत प्राथमिकता दिएको छ । मोबाइल बैंकिङमार्फत पानी, बिजुली, सञ्चारलगायतका बिल भुक्तानी, रिचार्ज तथा बैंक ट्रान्सफर सेवा सञ्चालनमा रहेको तथा आगामी दिनमा SHISCOL SMART लगायतका प्रविधिको प्रयोग र कृत्रिम बौद्धिकता (AI) को अभ्यासलाई अघि बढाउने योजना प्रस्तुत गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि सञ्चालक तथा कर्मचारी क्षमता विकास, सदस्य शिक्षा कार्यक्रम, सदस्य सुरक्षा कार्यक्रम, विस्तारित मञ्च, विद्यालयकेन्द्रित कार्यक्रम तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरिएको छ । संस्थाले आर्थिक वर्ष २०८२/८३ मा ६२९ सदस्य कायम रहेको प्रतिवेदनमा उल्लेख छ । साधारण सभाले संस्थाको आगामी कार्यदिशा, आर्थिक अनुशासन, सदस्यकेन्द्रित सेवा, प्रविधिको प्रयोग तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल गरेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता र बागमती प्रोस्कुनका सदस्य कृष्ण प्रसाद सुवेदीके प्रमुख आतिथ्यमा भएके कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य, कर्मचारी र शेयर सदस्यहरूको सहभागिता रहेको थियो । संस्थाले आगामी दिनमा सदस्यको आवश्यकता र क्षमताका आधारमा सेवा विस्तार गर्दै पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र दिगो सहकारी संस्था निर्माण गर्ने लक्ष्य अघि सारेको छ ।
प्रतिक्रिया