• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ९ सय ८३ नेपालीको मृत्यु

आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ९ सय ८३ नेपालीको मृत्यु

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले ज्यान गुमाउने क्रम बढ्दो क्रममा रहेको पाइएको छ । गत आठ महिनामा वैदेशिक रोजगारीमा रहेको करिब एक हजार नेपालीले ज्यान गुमाइसकेका वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

गत आठ महिनामा ९ सय ८३ नेपालीको विभिन्न कारणले मृत्यु भएको जनाइएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि फागुन महिनासम्मको प्राप्त विवरण अनुसार वैदेशिक रोजगारीमा रहेका ९ सय ८३ श्रमिकको मृत्यु भएको, ६ सय १ जना अंगभंग तथा बिरामी भएका छन् । सो मध्ये १ सय २५ जनाको उद्धार तथा ६ सय ८५ को शव व्यवस्थापन भएको हो ।

९ सय ८२ श्रमिकको विदेशमा मृत्युु हुँदा वैदेशिक रोजगार बोर्डले करिब ७३ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगार बोर्डले दिनुपर्ने अनिवार्य आर्थिक सहयोग रकमको भारसमेत बढ्दै गएको छ ।

चालु वर्षको यस अवधिमा बोर्डले मृत्युु भएका श्रमिकका परिवारलाई सो रकम सहायता वितरण गरेको बोर्डले जनाएको हो । बोर्डले श्रम स्वीकृति लिई सो अवधिभित्र स्वदेश वा विदेशमा मृत्युु भएको अवस्थामा मृतकका नजिकका हकवालालाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने गरेको छ । गत आर्थिक वर्षबाट मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता ७ लाखबाट बढाएर १० लाख रुपैयाँ बनाइएको हो ।

विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता माग गर्ने मापदण्डमा नपरेको संख्या जोड्दा भने विदेशमा मृत्यु हुनेको संख्या अझ बढी हुन्छ । गत आर्थिक वर्षमा भने हालसम्मकै सबैभन्दा बढी नेपाली श्रमिकले विदेशी भूमिमा मृत्युुवरण गरेको बोर्डले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विगत १० वर्षमा १२ हजारभन्दा बढीको विदेशमा मृत्यु भइसकेको छ । विगत ५ वर्षमा मात्र ६ हजार ७५ युवाले रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्षमा १ हजार ४ सय ९२ नेपाली श्रमिकको विदेशमा ज्यान गएको थियो । यसैगरी गत आवमा ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएका थिए । औद्योगिक दुर्घटना, आत्महत्या, कार्डियक एरेस्ट, सडक दुर्घटना आदिका कारण विदेशमा धेरै नेपालीको मृत्यु हुने गरेका विवरण धेरै आउने गरेको बोर्डका निर्देशक तथा प्रवक्ता भूपेन्द्र सापकोटा बताउँछन् ।

बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले रोजगारीका क्रममा विदेशमा मृत्यु हुने नेपालीको संख्या घटेको देखिँदैन । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या घटेसँगै गन्तव्यमा मुलुकमा मृत्यु हुनेको संख्या घटेको देखिन्छ ।

३८ शव ल्याउन ढिलाइ
अमेरिका–इरान–इजरायल यद्धले मध्यपूर्वमा तनाव भएका कारण विदेशमा मृत्यु भएका ३८ नेपालीको शव नेपाल ल्याउन ढिलाइ भएको जनाइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान प्रभावित हुँदा शव ल्याउन ढिलाइ भएको बताए । उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी ३८ वटा शव नेपाल ल्याउन बाँकी छन् । नियमित उडान हुन थालेपछि ती शव नेपाल ल्याइने उनले बताए । मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेहरूको सोही देशमै उपचार भइरहेको छ ।न्युज २४ दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २२, आईतवार ०१:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP