काठमाडौँ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा अग्रज पत्रकार बलदेव थापाद्वारा लिखित हास्यव्यङ्ग्यसङ्ग्रह ‘मतिपुराण’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । वैशाख २७ गते आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका प्रमुख अतिथि सुप्रसिद्ध हास्यव्यङ्ग्यकार प्रा. रामकुमार पाँडे हुनुहुन्थ्यो ।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित कार्यक्रमको सभापतित्व आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा ‘मतिपुराण’ का बारेमा डा. इन्दुल केसी, मुरहरि रायमाझी ‘हरि’ र ज्ञानमणि नेपाल ‘कालोटोपी’ ले टिप्पणी गर्नुभएको थियो भने कृतिकार बलदेव थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कृतिका बारेमा बाेल्दै डा. इन्दुल केसीले ‘मतिपुराण’ पछिल्लाे समयकाे राजनीतिक घटना र पात्रहरूमाथि चाेटिलाे प्रहार भएकाे बताउनुभयाे । उहाँले प्रस्तुत कृति हास्यव्यङ्ग्य क्षेत्रमा एउटा महत्वपूर्ण दस्तावेज हुने दाबी गर्दै सफलताकाे कामना गर्नुभयाे ।
यस्तै मुरहरि रायमाझी ‘हरि’ले कृति पठनयाेग्य रहेकाे र यसले नेपाली साहित्यकाे हास्यव्यङ्ग्य विधालाई जिवन्त बनाउने बताउँदै कृतिमा भएका केही कमजाेरीहरूमा सुझाव पनि दिनुभयाे । यस्तै पत्रकार ज्ञानमणि नेपाल ‘कालोटोपी’ले ‘मतिपुराण’ले मति बिग्रिएकाहरूकाे मति सप्रियाेस भन्दै राजनीति खराब नभएपनि खराब व्यक्तिका हातमा परेका कारण नेपालमा यसले सहि अर्थ राख्न नसकेकाे र कृतिले त्यसमा घतलाग्दाे तरिकाले व्यङ्ग्य प्रहार गरेकाे बताउँदै कृति सफलताकाे कामना गर्नुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि हास्यव्यङ्ग्यकार प्रा. रामकुमार पाँडेले हास्यव्यङ्ग्यकाे क्षेत्र नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उच्च रहेकाे बताउँदै ‘मतिपुराण’ले यस क्षेत्रलाई बलियाे बनाएकाे टिप्पणी गर्नुभयाे । कार्यक्रमका सभाध्यक्ष साहित्यकार ढुण्डिराज पोखरेलले लेखकले निकै महत्वका साथ विषयवस्तुमा केन्द्रीत रहेर कृति लेख्नुभएकाे बताउँदै आउने दिनमा अझ परिस्कृत कृतिहरू पढ्न पाइयाेस् भन्ने कामना गर्नुभयाे ।

कृतिकार थापाले सबैप्रति आभार व्यक्त गर्दै सल्लाह र सुझाव अनुसार आगामी कृतिहरू ल्याउने बताउनुभयाे । कार्यक्रम आफ्नाे लागि निकै उपयाेगी रहेकाे भन्दै उहाँले यसबाट आफूले साँच्चै उल्लेख्य कृति लेखिएछ जस्ताे भान भएकाे भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे ।
प्रतिक्रिया