• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

पुस्तक समीक्षा : देवेन्द्रको ‘मुक्ति’ भित्र लुकेका यथार्थ

पुस्तक समीक्षा : देवेन्द्रको ‘मुक्ति’ भित्र लुकेका यथार्थ

  • ज्ञानमणि नेपाल कालोटोपी

बनेपा । लामो समयदेखि अमेरिकामा बस्दै आएका भाइ देवेन्द्र नेपाल यस वर्षको दशैं र तिहारको सन्दर्भ पारेर सपरिवार नेपाल आए । उनी करिब दुई महिनाको समय अवधिमा नेपालका धेरै ठाउँको भ्रमण गरे । फेरि अमेरिका जानुभन्दा केही दिनअघि मात्र उनले मलाई बनेपामा भेट्ने समय दिए । हामी करिब २० मिनेट जति मात्रै सँगै बस्यौं । एउटा चिया पसलमा पसेर सँगै चिया खाने समय मात्र मिल्यो । जतिबेला उनले मलाई ‘मुक्ति’ उपन्यास तयार गरें दाइ, प्रकाशनको तयारीमा छ तर विमोचन गर्न भने नभ्याइने भयो, सम्मका कुरा गरेका थिए । मैले अरु सबै कुरा सोध्ने समय पाइनँ, यति भनें, पहिलो कृति हो, सफलताको कामना भाइ ।

भाइले धन्यवाद दाइ भने उनी दाप्चा जाने तयारीमा थिए । बस छुट्यो, गए । त्यसपछि भेट भएन, तर फोनमा कुरा भने भइरहेको थियो । मंसिर २ गते उनी अमेरिका फर्किए । त्यसको केही दिनपछि एकजना अपरिचित व्यक्तिको नयाँ नम्बरबाट फोन आयो । उनले देवेन्द्र भाइले तपाईंका लागि केही पुस्तक दिन भन्नु भएको थियो । कता भेटौं सर भने । मैले बनेपा छु भनें । उनी बनेपा नै आउँदै रहेछन् । एकछिन भेट भयो । मिठा कुराकानीसँगै १० प्रति पुस्तक दिएर उनी गए । मैले के रहेछ विषय भनेर ‘मुक्ति’ खोलें । शुरुवात ठिकै थियो । पूरै पढ्न पाएको थिइनँ । आज सबै पुस्तक पढें र केही लेखौं भन्ने लागेर पुस्तक समीक्षा लेख्दैछु । हुन त पुस्तक समीक्षा भनेर त्यति धेरै समीक्षा गर्न सक्ने त्यत्रो समीक्षक त म होइन । तैपनि आफूलाई लागेका कुुरा लेख्दै गर्दा लागेको छ देवेन्द्रसँग लेखकीय शक्ति चाहिँ रहेछ ।

उपन्यासको मुख्य पात्र महेशको जीवनमा घटेका विभिन्न आयामहरुमा कथावस्तु केन्द्रीत छ । उसलाई विभिन्न पात्रहरुले माया जालमा पारेका र धनको पछि लाग्दै गरिब महेशलाई धोका दिएका प्रसंगहरुले पाठकलाई अब के होला भन्ने उत्सुकता पुस्तक पढ्दै जाँदा पैदा हुन्छ । यसमा लेखकले आफ्नो कला पस्किएका छन् । यो राम्रो पक्ष हो । उपन्यास सामाजिक र प्रेम कथामा आधारित छ । यसले विभिन्न सन्देश दिएको छ । मुख्य कुरा मानिस भएर जन्मिएपछि जीवनमा सधैं दुःखै दुःख मात्र आउँदैनन् र कसैलाई सुख मात्र पनि हुँदैन । कसैको मायालाई सामान्य लिने र क्षणिक धनको लोभमा परेर जीन्दगी नै बर्बाद पार्ने अवसरवादी खोल ओडेका केही महिला पात्रहरुका अघि महेशले आफ्नो कर्मलाई निरन्तरता दिएको छ । ऊ हरेक पाइलामा सफल पनि भएको छ । यसले के देखाउँछ भने अहिले दुःख भयो भन्दैमा आत्तिनु हुन्न, भविष्यमा दुःखबाट सुख पक्कै आउँछ ।

यसमा अर्को महत्वपूर्ण कुरा के छ भने, मानिस विभिन्न स्वार्थका लागि मायाको नाटक गर्छ र स्वार्थ पूरा भएपछि वा अर्को विकल्प भेटिएपछि धोका दिन पनि पछि पर्दैन भन्ने सन्देश यहाँ सरस्वती र सन्ध्याले महेशमाथि गरेको व्यवहारले देखाउँछ । यी दुवै पात्रहरु महेशको जीवनमा उसले पाएको सफलता र उसको व्यवहारका कारण पछि लागेका थिए । तर कालान्तरमा महेशसँग धन छैन भन्ने थाहा पाएपछि धनको पछि लाग्दै कोही आफैं बेचिए, कोही अपहेलित भए । आखिर महेशले एउटी बालबिधवा मञ्जुसँग बिबाह गर्यो । जहाँ उनीहरुको जीवन हाँसीखुशी चलिरहेको थियो । काम पनि राम्रै थियो तर बज्रपात परेको पनि छ महेशको जीवनमा । तैपनि उसले नआत्तिकन जीवन चलाइरहँदा पहिले उसलाई धोका दिनेलाई पनि संरक्षण दिएको प्रसंग पनि छ । पत्रकारिता अंगालेको महेशले आफ्नो काममा पूर्ण सफलता पाएको पनि छ । यो निकै राम्रो कुरा हो, हुनु पर्ने पनि यही हो । यो अहिले पत्रकारिता क्षेत्रमा लाग्नेहरुले बुझ्नै पर्ने कुरा हो ।

यसमा अर्को महत्वपूर्ण कुरा के छ भने, मानिस विभिन्न स्वार्थका लागि मायाको नाटक गर्छ र स्वार्थ पूरा भएपछि वा अर्को विकल्प भेटिएपछि धोका दिन पनि पछि पर्दैन भन्ने सन्देश यहाँ सरस्वती र सन्ध्याले महेशमाथि गरेको व्यवहारले देखाउँछ । यी दुवै पात्रहरु महेशको जीवनमा उसले पाएको सफलता र उसको व्यवहारका कारण पछि लागेका थिए । तर कालान्तरमा महेशसँग धन छैन भन्ने थाहा पाएपछि धनको पछि लाग्दै कोही आफैं बेचिए, कोही अपहेलित भए । आखिर महेशले एउटी बालबिधवा मञ्जुसँग बिबाह गर्यो ।

धनी बाबुका छोरा हुँदैमा सफल हुँदैनन् र गरिब हुँदैमा सबै भोकै पनि हुँदैनन् भन्ने अर्को सन्देश पनि उपन्यासले दिएको छ । धेरै कुराहरुमा सकारात्मकता देखिए पनि कतिपय कुरामा लेखकले पात्रहरुलाई न्याय दिन सकेका छैनन् । यसो भनेर लेखकीय शैली खराब छ भन्न खोजेको पक्कै होइन । जस्तै महेश मुख्य पात्र छ, जसले जीवनमा दुःख र हण्डर अनि धोका मात्र पाएको छ । उसले बाँचुञ्जेल कहिले पनि आफ्नो बारेमा सोच्ने समय पाएको छैन । हरेक समय समाजसेवा, अरुको सुखका लागि आफ्नो जीन्दगी नै हत्केलामा राखेर संघर्ष गरेको प्रसंग छ । त्यति मात्र होइन, एक पटक धोका पाइसकेपछि त्यही महेश फेरि पनि कोही केटीकै मायामा किन परिरहेको छ त ? किन उसले कसैको मायाको नाटकलाई बुझ्न सक्दैन ? किनकी ऊ त पढेको मान्छे हो । यसमा लेखकले केही विवेक पुर्याउनु पर्ने हो ।

हुन त महेशले ढुंगाले हान्नेलाई फूलको थुंगाले जवाफ फर्काउनु पर्छ भन्ने सन्देश दिएको छ । तर यहाँ के बुझ्नु पर्छ भने यो त्यो शताब्दी होइन, जहाँ अरुको लागि मात्र सोचेर काम गरिन्थ्यो । अहिलेको शताब्दीमा ढुंगा र फूलको फरक अर्थ लाग्ने काम गर्नेको जमात धेरै छ । महेश अहिलेको जमानामा जन्मिएको र हुर्केको युवक थियो । उसले त्यस्ता स्वार्थीहरुलाई वास्तै गर्नु हुँदैनथ्यो । जहाँ आफूले मन पराएकी केटीले अरुलाई मन पराउन थाली भन्ने थाहा हुँदा पनि उसले बोलाएको ठाउँमा गइरहेको छ महेश, उनीहरुले भनेको मानिरहेको महेशले । के यो देवताको समय हो र ? यसमा कतै लेखकले न्याय दिन नसकेका हुन् की भन्ने भ्रम पाठकलाई पर्छ ।

अर्को कुरा उपन्यासको अन्त्यमा महेशको भूकम्पमा परि मृत्यु भएको देखाइएको छ । यहाँसम्म त ठिकै हो तर मुक्ति उपन्यासको पाण्डुलिपी फेला परेको प्रसंगले उपन्यासको अन्तिम मर्मलाई त्यति न्याय दिएको छैन । किनकी त्यो विनासकारी भूकम्पले हजारौं मानिसका लाखौं घरबार सकिएको अवस्थामा त्यो कागजमा लेखिएको पाण्डुलिपी कसरी जोगिन सक्थ्यो र ? तैपनि कथा त कथै हो, असम्भव पनि सम्भव हुन्छ कहिलेकाहीँ । हामीले यो पनि भुल्नु हुँदैन मुक्ति उपन्यास पढ्दै गर्दा ।

निष्कर्षमा उपन्यास राम्रो छ । पहिलो प्रयासमै यति हुनुलाई नराम्रो भन्न मिल्दैन । पछिल्ला प्रयासमा लेखकले सुधार गर्दै जानेछन् भन्ने अपेक्षा छ । पुस्तकको आकार सानो छ । भद्दा लेखनशैली छैन । छोटो र मिठो छ । पेज टर्नर प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ३७५ रुपैंयाँ रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार १५:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP