काठमाडौँ । साहित्यकार कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएकाे छ।
बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा.डा. गोविन्द मानसिंह कार्कीकाे प्रमुख आतिथ्यमा पुस्तक विमाेचन गरिएकाे हाे ।
हामी र हाम्रो कृति समाजको २४औँ प्रकाशनका रूपमा दयालकाे उक्त मुक्तकसंग्रह प्रकाशित भएकाे हाे । कविता, गलल, लघुकथा, मुक्तक, सांस्कृतिक लेख तथा अनुसन्धानमूलक लेखमा कलम चलाउँदै आएका दयालकाे उथलपुथल १० औँ एकल कृति हो । उनका ४ वटा संयुक्त कृतिसमेत प्रकाशित छन् ।
कार्यक्रमको सञ्चालन हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारीले गरेकी थिइन् । स्वागत मन्तव्य हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्द पौडेलले दिएका थिए ।
प्रमुख अतिथि प्रा.डा. गोविन्द मानसिंह कार्कीले विमोचित कृतिलाई १८ बुँदामा वर्गिकरण गरेर उत्कृष्ट तरिकाले समीक्षा गरेका थिए । शुभकामना मन्तव्य तथा विमोचित कृतिमाथि सटिक टिप्पणी गर्ने अतिथिहरूले कर्ण दयालद्वारा लिखित उथलपुथल मुक्तक सङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा रहने टिप्पणी गरे।
संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाले आगामी दिनमा १२ जना स्रष्टाका कृतिहरू हरेक महिनाको तेस्रो हप्ता पालैपालो विमाेचन गर्दै जाने बताए । उक्त संस्थालाई विश्वास गर्ने देशका जुनसुकै कुनामा रहेका सर्जकहरूको कृति विमोचनका लागि पनि संस्था सदैव तयार रहेको विश्वास दिलाए । संस्थाका सचिव बद्री उप्रेतीको व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रम हामी र हाम्रो कृति समाजका आजीवन सदस्य मीरा न्यौपाने गजुरेलको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
विमोचित कृतिभित्र ३०० वटा मुक्तकहरू संग्रहित छन् । ३५० रुपैंयाँ मूल्य रहेको यस कृतिमा अग्रज मुक्तककार उषा शेरचन, प्रलेस केन्द्रीय अध्यक्ष डा.देवी क्षेत्री दुलाल, जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष माइला सी, पत्रकार तथा सामाजिक अभियन्ता नवराज पहाडी, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल तथा सचिव बद्री उप्रेतीले शुभकामना मन्तव्य लेखेका छन् ।
प्रतिक्रिया