सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–२ स्थित जाल्पादेवी माध्यमिक विद्यालयमा शुक्रबार “सांस्कृतिक काव्य उत्प्रेरणा उत्सव–२०८३” भव्यरूपमा सम्पन्न भएको छ । साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सास्कको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खतिवडाको अध्यक्षता तथा नगेन्द्रप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिका रूपमा वरिष्ठ समाजसेवी रामबाबु नेपाल, संस्कृति विज्ञ डा. इन्दुल केसी, प्राध्यापक तथा सास्कका संस्थापक संरक्षक डा. सावित्री श्रेष्ठ, शीतल गिरी र अन्तर्राष्ट्रिय सञ्चार विज्ञ स्वर्णिमा श्रेष्ठ सहभागी हुनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य हरिहर आचार्यले सम्मानित व्यक्तित्व श्रीराम खतिवडाको योगदानबारे चर्चा गर्नुभएको थियो भने शिक्षक दिपेन्द्र रावलले स्वागत मन्तव्य राख्नुभएको थियो । डा. सावित्री श्रेष्ठले सास्क संस्थाको परिचय प्रस्तुत गर्नुभएको थियो । उत्सवमा जल्पादेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक काव्य रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार श्रीराम खतिवडालाई विशेष सम्मान प्रदान गरिएको थियो । अध्यक्षबाट सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको र सास्क परिवार तथा उपस्थित अतिथिहरूले खादा र उपहार अर्पण गरेका थिए ।
त्यसैगरी सास्कका स्रष्टाहरूले काव्य वाचन गरेका थिए भने प्रविधि विज्ञ स्पन्दन श्रेष्ठले सास्कको २०८३ सालका सम्मान तथा पुरस्कारहरूको घोषणा गर्नुभएको थियो । कार्यक्रममा डा. इन्दुल केसी, ज्ञानु नेपाल र देवराज ढकाललाई सास्कको आजीवन सदस्यता प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय ज्ञान तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउनुभएका स्वर्णिमा श्रेष्ठलाई विशेष सम्मान गरिएको अवसरमा उहाँले आफ्नो अनुभव साझा गर्दै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
देशका विभिन्न जिल्लाबाट सहभागी साहित्यकार, लेखक, पत्रकार, शिक्षाविद् तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थितीले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया