• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

अशोक सिलवालको पशुपतिनाथबाट लुम्बिनीसम्मको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ

अशोक सिलवालको पशुपतिनाथबाट लुम्बिनीसम्मको ‘अप्प दीपो भवः यात्रा’ आरम्भ

काठमाडाैँ । ‘अप्प दीपो भवः यात्रा’ सुरु भएको छ । पशुपतिनाथबाट यो यात्रा सुरु भएको हो । ‘आफ्नो प्रकाश आफैँ बन भन्ने गौतम बुद्धको सूत्र वाक्य बोकेर म यो यात्रामा निस्केको हुँ ।’, अप्प दीपो भवः यात्री अशोक सिलवालले भने ।

पशुपतिनाथबाट सुरु भएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेर यो यात्रा समापन हुनेछ । यात्राक्रममा स्थानीय विद्यालय, स्थानीय पालिका, धार्मिक केन्द्र, आध्यात्मिक आश्रम, सामाजिक संघसंस्था मात्र होइन, विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग साक्षात्कार तथा अन्तर्क्रिया पनि हुनेछ ।

‘सत्यम् शिवम् सुन्दरमबाट अप्प दीपो भवः सम्मको चेतना यात्रा हो यो’, यात्रामा निस्कनुअघि ‘अप्प दीपो भवः’ का लेखकसमेत रहेका अशोकले भने, ‘यो हिमालयबाट मधेशसम्मको यात्रा हो । लेखनलाई भुईं र भुईंको सम्वाद र सम्वेदनासँग जोड्ने यात्रा हो अनि यो सद्भाव र सहअस्तित्वको अनि आफैँभित्र आफ्नै लागि र सबैको लागि उज्यालो खोज्ने यात्रा हो ।’ ‘यो यात्रामा भौतिकरुपमा म एक्लै भए पनि मनमा अनेक साथीका माया, सहयोग, आर्शिवाद र हौसला पनि मसँगै हुनेछ ।’, उनले थपे, ‘यात्राका खण्डखण्डमा जोडिने साथीहरु पनि थुप्रै हुनुहुनेछ ।’

पशुपति क्षेत्र विकास परिषदमा विज्ञका रुपमा समेत काम गरिसकेका ‘अप्प दीपो भवः’ का लेखक अशोकलाई पशुपतिनाथका देवीहरुमाथि विद्यावारिधी गरेकी निर्मला पोखरेल, नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका सदस्यसचिव लक्ष्मण पन्थी, पशुपति क्षेत्र विकास परिषद सदस्य डा. बीपी बडाल, परिषदकै कार्यकारी निर्देशक सुभाषचन्द्र जोशी, कर्मचारी छविरमण अधिकारी, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष दीपक महत, चीनस्थित युनान विश्वविद्यालयका अध्यापक भरत शर्मालगायतले पशुपतिनाथ परिसरबाट औपचारिक यात्रा शुभकामना कार्यक्रम गरी बिदाई गरेका थिए । त्यसअघि पशुपतिनाथको विधिविधानपूर्वक दर्शन गरिएको थियो ।

आफ्नो किताब ‘अप्प दीपो भवः’को दोस्रो संस्करण अशोकले मायादेवी मन्दिरमा सार्वजनिक पनि गर्नेछन् । यसअघि तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको यो किताबको पहिलो संस्करण तिब्बतको ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको थियो ।

लाङटाङ सद्भावनादूतसमेत रहेका लेखक सिलवालका ‘अप्प दीपो भवः’ बाहेक यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ र संसारशिर सगरमाथा आधारित भुईंतिर फर्किएको ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ लगायत प्रकाशित छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २९, मंगलवार ०९:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP