-अम्बिका धिताल
जतासुकै आन्दोलन सुरू भयो । सडक तात्यो, सामाजिक सञ्जालमा आक्रोश पोखियो, चोकचोकमा विरोधका नाराहरू घन्किए ।
“दोषीलाई फाँसी देऊ !” “बलात्कारीलाई कडा कारबाही गर !”
आन्दोलनमा होमिएका मान्छेहरू कोणसभामा परिणत भए । एक विद्वान बोले “हामीले यस्ता घटना रोक्न समाजबाटै आवाज उठाउनुपर्छ । दुधको दुध, पानीको पानी छुट्याएर दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।”
पछाडिको पङ्क्तिमा उभिएकी एउटी बालिका अचानक अगाडि आइन् ।
“सर, आवाज उठाउने कुरा गर्नुहुन्छ, तर आवाज कसले सुन्ने ?” सभा मौन भयो ।
उनले काँपेको स्वरमा भनिन्, “हिजो मारिएकी बहिनीको समाचार पढेर तपाईंहरू सडकमा निस्कनुभयो तर हाम्रो छिमेकी साथीले केही महिनाअघि आफूलाई एक प्रभावशाली मान्छेले दुर्व्यवहार गरेको बताउँदा तपाईँहरूले के गर्नुभयो ?”
त्यहाँ उपस्थित सबैको शिर झुक्यो ।
महिलाले झोलाबाट एउटा कागज निकालिन् ।
“यो उनको उजुरी हो । उसले त्यतिबेला नै सहयोग मागेकी थिई । तपाईँहरूले ‘चुप लाग, बदनामी हुन्छ’ भन्नुभयो ।”
सभा स्तब्ध भयो।
उनले कागज ती मान्छेको हातमा थमाउँदै भनिन्, “हामीले समयमै उसको आवाज सुनेको भए… सायद हिजोको खबरमा अर्को एउटा नाम थपिँदैनथ्यो ।”
ती व्यक्तिले कागज खोले । उजुरीको सुरूको वाक्य थियो,“मलाई न्याय चाहिएको होइन सर, पहिले सुरक्षित बाँच्न चाहन्छु ।”
सभामा नाराभन्दा ठूलो मौनता छायो ।
वक्ताले सुनाउँदै गए । अन्तिम वाक्यमा लेखिएको थियो, “बलात्कारपछि मात्र विरोध गर्दै दोषीलाई फाँसी देऊ भन्ने समाज होइन, अब बलात्कार हुनुअघि आवाज सुन्ने समाज बनाउनु असली मानवता हो ।”
२०८३/०५/०६
प्रतिक्रिया