• २०८३ असार ३० | Tue, 14 Jul 2026

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा ‘साहित्य मेला’ सम्पन्न

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा ‘साहित्य मेला’ सम्पन्न

बनेपा । काभ्रेको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा शुक्रबार साहित्य मेला सम्पन्न भएको छ । विद्यालयले पहिलो पटक आयोजना गरेको मेलामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

मेलामा सहभागी विद्यार्थीहरूले नेपाली साहित्यका विभिन्न विधामा योगदान पुर्‍याएका साहित्यकारहरूको जीवनी लेखन, तस्बिर चित्रांकन, उनीहरूबाट सिक्नुपर्ने प्रेरणादायी पक्षहरूको प्रस्तुति, भित्ते लेखन तथा विभिन्न प्रयोगात्मक सामग्रीहरूको प्रदर्शन गरेका थिए । साथै व्याकरणसँग सम्बन्धित विभिन्न विषयहरू पनि प्रदर्शनीमा समेटिएकाे थियाे ।

विद्यालयका भाइस प्रिन्सिपल नवराज दाहालका अनुसार विद्यार्थीहरूमा साहित्यप्रति रुचि बढाउने तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले साहित्य मेला आयोजना गरिएको हो । उहाँले विद्यालयमा पहिलो पटक आयोजित उक्त कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा हरेक महिना विभिन्न विषयसँग सम्बन्धित यस्तै मेलाहरू आयोजना गरिने जानकारी दिनुभयो । मेलामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले मात्र भाग लिएका भए पनि विद्यालयका सबै विद्यार्थीहरूले अवलाेकन गरेका उहाँले बताउनुभयाे ।

विद्यालयका प्रबन्धक प्रताप वैद्यले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, अनुसन्धानात्मक सोच तथा सिर्जनशीलताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक सिकाइलाई प्राथमिकता दिन विद्यालयले विभिन्न शैक्षिक तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका सामग्रीहरूको अवलोकन शिक्षक, अभिभावक तथा विद्यालय परिवारले गरेका थिए । विद्यालयका अनुसार साहित्य मेलाले विद्यार्थीहरूलाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति थप आकर्षित बनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २९, शुक्रबार २०:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP