• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्चीमा कर शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम

मेलम्चीमा कर शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम

मेलम्ची, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग, समन्वय तथा मेलम्ची नगर उद्योग वाणिज्य संघको आयोजनामा मेलम्ची नगरपालिका वडा नं. १, २, ३ र ४ का व्यवसायी, उपभोक्ता तथा सरोकारवालाहरुका लागि कर शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिका वडा नं. १ स्थित भोटेचौरमा आयोजित उक्त कार्यक्रम मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धितालको अध्यक्षता तथा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख प्रधानले कर प्रणालीप्रति व्यवसायीहरूलाई सचेत, जिम्मेवार र पारदर्शी बन्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन करदाताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै, व्यवसायलाई व्यवस्थित, सुरक्षित र दीगो बनाउन करसम्बन्धी ज्ञान अनिवार्य रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले व्यवसायीहरूलाई कानुनी प्रक्रियाबारे जानकारी दिनुका साथै आर्थिक अनुशासन कायम गर्न सहयोग पुर्‍याउने बताउनुभयो ।

उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकाले व्यवसायीहरूको क्षमता अभिवृद्धि, कर प्रणालीप्रति सकारात्मक धारणा विकास तथा स्थानीय आर्थिक गतिविधिलाई सशक्त बनाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, धुलिखेलका कर अधिकृत रमेश न्यौपाने र टिकाराम शर्माले प्यान, भ्याट दर्ता, खारेजी लगायत कर शिक्षासम्बन्धी विविध विषयमा प्रशिक्षण दिनुभएको थियो भने कृषि विकास बैंक लिमिटेड, मेलम्ची शाखाका प्रबन्धक प्रज्वल भट्टराईले व्यवसायीहरूलाई वित्तीय साक्षरतासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।

मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले आर्थिक ऐनमा समेटिएका करका दरहरू तथा स्थानीय तहले संकलन गर्ने राजस्वसम्बन्धी जानकारी गराउँदै आगामी कार्यक्रमहरूको जानकारी पनि दिनुभयो। उहाँका अनुसार, नगरपालिकाले जेठ ५ गते बाहुनेपाटी बजारमा कर शिक्षा कार्यक्रम तथा जेठ ६ गते मेलम्चीमा आर्थिक ऐनका विषयमा व्यवसायीहरूसँग छलफल कार्यक्रम आयोजना गर्नेछ ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले प्यान, भ्याट दर्ता, खारेजी तथा अन्य करसम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको भन्दै मेलम्ची नगरपालिकाप्रति धन्यवाद व्यक्त गरेका थिए । स्थानीय व्यवसायीहरूको करसम्बन्धी ज्ञान अभिवृद्धि र वित्तीय सशक्तीकरणमा कार्यक्रम फलदायी भएको सहभागीहरूको भनाइ रहेको थियो।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर १ २ र ३ का वडा अध्यक्ष कृष्ण मुरारी चौलागाईं, नगेन्द्रप्रसाद खतिवडा र कुमार बन्जरा, कार्यपालिका सदस्य गोमा दुलाल लगायतको उपस्थिति रहेको थियो ।

 

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ४, सोमबार २१:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP