धुलिखेल । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस बिहीबार काभ्रेपलाञ्चोकको धुलिखेलमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । धुलिखेल नगरपालिकाको आयोजना तथा INSEC (इन्सेक) को सहकार्यमा आयोजित कार्यक्रममा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगम प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष गणेश आचार्यले अध्यक्षता गर्नुभएको थियो।
दिवसको अवसरमा दलित परिषद्का उपाध्यक्ष चमारसिंह विक, इन्सेक बागमती प्रदेश अध्यक्ष शिवप्रसाद खकुरेल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष, बिनोदकुमार न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले छुवाछुत तथा जातीय विभेद उन्मूलनका लागि तल्लो तहदेखि नै निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले समानता, सामाजिक न्याय र मानव अधिकारको सुनिश्चितताका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।
कार्यक्रम शुरु हुनुअघि सहभागीहरूले धुलिखेल बजार क्षेत्रमा प्रभातफेरी सञ्चालन गरेका थिए । प्रभातफेरीमार्फत जातीय भेदभाव तथा छुवाछुत अन्त्यको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया