काठमाडौँ । हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको जनाएको छ।
अहिले देशको पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ । तराईका क्षेत्रमा आंशिक बादल लागेको छ । यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसाे कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागमा, अनि बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ । यस्तै, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।
यसैबीच, मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ । बाँकी हिमाली र पहाडी भागका पनि एक-दुई स्थानमा यस्तो मौसमी गतिविधि हुने देखिन्छ।
प्रतिक्रिया