चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हालसम्म २५ जनाको ज्यान लिइसकेको हिंस्रक जंगली भाले हात्ती ‘ध्रुवे’ लाई बुधबार राति डार्ट (बेहोस) गरी नयाँ स्याटलाइट रेडियो कलर जडान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार राति करिब १०:३० बजे सुखीभार पोस्टबाट करिब २०० मिटर पूर्व ध्रुवेलाई सफलतापूर्वक डार्ट गरी बेहोस बनाइएको थियो । त्यसपछि यसको घाँटीमा नयाँ स्याटलाइट रेडियो कलर जडान गर्नुका साथै करिब ६ इन्च दाह्रा पनि काटिएको छ ।
निकुञ्ज प्रशासनका अनुसार रेडियो कलरमार्फत ध्रुवेको दैनिक आवतजावत र गतिविधिको वास्तविक समयमै निगरानी गर्न सहज हुनेछ । यसबाट बस्ती नजिक हात्ती पुगेको अवस्थामा समयमै सूचना प्रवाह गरी स्थानीयलाई सतर्क गराउन र मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ध्रुवे विगत धेरै वर्षदेखि चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि त्रासको विषय रहँदै आएको छ । यसले हालसम्म २५ जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्यांक छ । नयाँ रेडियो कलर जडानसँगै यसको गतिविधिमाथि थप प्रभावकारी निगरानी राखिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया