• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पित

तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं। कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’ आइतबार राजधानीमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा अग्रज कवि तथा साहित्यकार शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. कृष्णप्रसाद दाहाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक तथा कवि तारा सुवेदीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा सँगै काम गर्दाका पुराना दिन स्मरण गर्दै तारा सुवेदीलाई मिलनसार, सक्रिय र लगनशील व्यक्तित्वका रूपमा आफूले चिन्ने गरेको बताए ।

लोकार्पित कृतिमाथि समीक्षा गर्दै प्रा.डा. कृष्णप्रसाद दाहालले सुवेदीलाई सम्भावनाशील कविका रूपमा चित्रण गरे । उनले करिब डेढ दशकदेखि कविता लेखनमा सक्रिय सुवेदीको यो पहिलो कृति भए पनि त्यसले पहिलो कृतिको अनुभूति नदिने उल्लेख गर्दै कविताले पाठकको मन जित्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, विधान आचार्य तथा चन्द्रप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कवि सुवेदीले आफ्ना साहित्यिक अनुभूति र सिर्जनायात्राबारे पनि विचार राखिन् ।

लोकार्पित कृतिका कविता विधान आचार्य, राधेश्याम लेकाली, मणि लोहनी, प्रकाश घायल, रञ्जना निरौला र खुशी अधिकारीले वाचन गरेका थिए । श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदीप सापकोटाले गरेका थिए भने डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १७, आईतवार २०:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP