• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

बनेपा-४ का किसान सिग्देलकाे व्यावसायिक कृषि अभियान, लोकल काँक्रा उत्पादनदेखि गाईपालनसम्म

बनेपा-४ का किसान सिग्देलकाे व्यावसायिक कृषि अभियान, लोकल काँक्रा उत्पादनदेखि गाईपालनसम्म

बनेपा, काभ्रे । बनेपा नगरपालिका–४, बातालमा पहाडी लोकल जातको ‘काली काँक्रा’ खेतीसँगै गाईपालनलाई समेत व्यावसायिक रूपमा अघि बढाइएको छ । स्थानीय किसान सुमेश सिग्देलले कृषि तथा पशुपालनलाई आयआर्जनको मुख्य माध्यम बनाउँदै उत्पादन र आम्दानी बढाउने लक्ष्यसहित काम गरिरहेका छन् ।

बाताल क्षेत्रमा करिब ५ रोपनी बारीमा काली काँक्रा खेती गरिएको छ । किसानका अनुसार उक्त क्षेत्रफलमा काँक्रा खेती गर्न करिब ३० हजार रुपैयाँ खर्च हुने र उत्पादन तथा बजार मूल्य राम्रो भएमा करिब २ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने लक्ष्य राखिएको छ । स्थानीय पहाडी लोकल जातको काँक्राको बजारमा समेत राम्रो माग रहेको किसान  सिग्देलको भनाइ छ । हाल उत्पादित काँक्रा बनेपा बजारमा प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय जातको स्वाद र गुणस्तरका कारण उपभोक्ताको रोजाइमा यस्तो काँक्रा पर्ने गरेको किसान बताउँछन् ।

काँक्रा खेतीसँगै किसानले गाईपालनलाई पनि आम्दानीको महत्वपूर्ण आधार बनाएका छन् । सिग्देलका अनुसार ३ वटा गाईबाट दैनिक करिब ४० लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूध प्रतिलिटर करिब ७५ रुपैयाँका दरले बिक्री हुने गरेको किसानले बताएका छन् । यस हिसाबले दूध बिक्रीबाट मात्रै दैनिक करिब ३ हजार रुपैयाँ बराबरको आम्दानी हुने गरेको छ ।

किसानले कृषि उत्पादनसँगै पशुपालनलाई जोडेर लैजाँदा नियमित आम्दानीको स्रोत तयार हुने बताएका छन् । गाईको गोबरलाई खेतबारीमा मलका रूपमा प्रयोग गर्न सकिने भएकाले पशुपालन र तरकारी खेती एकअर्काका परिपूरक बनेका छन् । बातालमा गरिएको कृषि तथा पशुपालन निरीक्षणका क्रममा खेतीको अवस्था, उत्पादन, लागत, बजार मूल्य तथा किसानका समस्या र सम्भावनाबारे जानकारी लिइएको थियो । स्थानीय उत्पादनलाई बजारसँग जोड्दै आवश्यक प्रविधि, सिंचाइ, प्राविधिक सहयोग र बजारीकरणको व्यवस्था गर्न सके कृषिबाटै राम्रो आम्दानी गर्न सकिने सिग्देलको अनुभव छ ।

स्थानीय जातका कृषि उपजको संरक्षणसँगै व्यावसायिक उत्पादनलाई प्राथमिकता दिन सके किसानको आयआर्जन बढ्नुका साथै स्थानीय बजारमा ताजा र गुणस्तरीय उत्पादनको आपूर्तिसमेत बढ्ने देखिन्छ । बातालका किसान सिग्देलले आगामी दिनमा काँक्रा खेतीको क्षेत्रफल विस्तार गर्नुका साथै गाईपालनलाई समेत थप व्यवस्थित र व्यावसायिक बनाउने योजना अघि सारेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ५, शुक्रबार ०६:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP