बनेपा । बनेपा नगरपालिकाले पुण्यमाता खोला तथा नदीको सीमाभित्र पर्ने अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई ७ दिने सूचना जारी गरेको छ ।
नगरपालिकाले २०८३ भदाै ४ गते जारी गरेको सूचनामा पुण्यमाता खोला/नदीको सीमांकन तथा साइट क्लियरेन्सको काम भइरहेको जनाउँदै खोला क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएका भवन, संरचना, टहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको हो ।
सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र त्यस्ता संरचना हटाउन सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको सूचनामा उल्लेख छ । नगरपालिकाले तोकिएको अवधिभित्र भवन तथा संरचना नहटाए प्रचलित कानुन तथा नेपाल सरकारको नीति र आदेशअनुसार नगरपालिकाले नै त्यस्ता संरचना हटाउने स्पष्ट पारेको छ ।
पुण्यमाता खोलाको क्षेत्राधिकारभित्र पर्ने संरचनाका कारण खोलाको प्राकृतिक बहाव, वातावरणीय अवस्था तथा बाढीजन्य जोखिममा असर पर्न सक्ने भन्दै नगरपालिकाले खोला क्षेत्रको सीमांकन र साइट क्लियरेन्सको काम अघि बढाएको जनाएको छ ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित संरचना धनी तथा सरोकारवालालाई नगरपालिकाको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया