• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

सांस्कृतिक पर्व गाईजात्रा आज मनाइँदै

सांस्कृतिक पर्व गाईजात्रा आज मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, “जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १३, शनिबार ०६:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP