बनेपा । स्वयम्भू शाक्यद्वारा लिखित ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । शब्दयात्रा प्रकाशन बनेपाको सभाकक्षमा आयोजित एक विशेष समारोहका बीच उक्त पुस्तकको औपचारिक सार्वजनिक गरिएको हो ।
समारोहको शुभारम्भमा भोटेकोशी बाढीमा परी दिवङ्गत भएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो । सो अवसरमा मृतकहरूको सम्मानमा १०८ वटा दीप प्रज्ज्वलन गरिनुका साथै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
सार्वजनिक गरिएको पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ मा साहित्यकार हरि मञ्जुश्रीको साहित्यिक यात्रा, सिर्जनात्मक क्षमता र नेपाली वाङ्मयको प्रवर्धनमा उहाँले पुर्याएको विशिष्ट योगदानको उच्च कदर तथा विश्लेषण गरिएको छ । लेखक शाक्य (जो स्वयं बैङ्कर तथा कानुन व्यवसायी हुन्) ले मञ्जुश्रीको लेखन र व्यक्तित्वलाई दस्तावेजका रूपमा प्रस्तुत गर्नुभएकाे छ । प्रा. डा. हेमराज काफ्लेले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
साहित्य, कला तथा वाङ्मय क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा साहित्यकार डा. इन्दुुल केसीसहित स्रष्टाहरूले कविता वाचन गर्नुभएको थियो ।
सोही समारोहका बीच साहित्य सिर्जना तथा पत्रकारितामा योगदानको सम्मान गर्दै पुरस्कार वितरणसमेत गरिएकाे थियो । कृषि पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार धनबहादुर मगरलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । त्यसैगरी, आफ्ना गीतका माध्यमबाट योगदान पुर्याउने दृष्टिविहीन स्रष्टालाई पनि सम्मान तथा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया