काभ्रे । पाँचखाल नगरपालिकाले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले विपद्को यस दुःखद् घडीमा पीडितहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी, नगरपालिकाले नगरका जनप्रतिनिधिहरूको एक हप्ताको तलब बराबरको रकमसमेत राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।
बाढीका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका पाँचखाल नगरपालिकाका नागरिकका परिवारलाई समेत नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । निर्णयअनुसार बाढीमा परी ज्यान गुमाउने तथा बेपत्ता हुने नगरवासीका परिवारलाई जनही १ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराइनेछ ।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि देशभरबाट पीडितका लागि राहत तथा सहयोग जुटिरहेको अवस्थामा पाँचखाल नगरपालिकाले पनि स्थानीय तहको तर्फबाट सहयोगको घोषणा गरेको हो । नगरपालिकाले विपदबाट प्रभावित नागरिकको दुःखमा स्थानीय सरकार साथमा रहेको सन्देश दिँदै राहत तथा सहयोगका कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने जनाएको छ ।
प्रतिक्रिया