• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

गोरुको मासु काटेर बिक्री गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ

गोरुको मासु काटेर बिक्री गरेको आरोपमा बनेपाबाट तीन जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका–१ टुकुचामा गोरुको मासु काटेर बिक्री–वितरण गर्दै गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भदौ २१ गते बिहान करिब ८ः५५ बजे गोरुको मासु काटेर बिक्री भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी नालाबाट प्रहरी सहायक निरीक्षक माधव खड्काको कमाण्डमा दुई जना तथा इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब निरीक्षक राजन बनमालाको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले बनेपा नगरपालिका–१ टुकुचामा स्थानीय यज्ञकुमार श्रेष्ठको घर भाडामा लिएर बसेका व्यक्तिहरूको कोठाबाट करिब २०/२५ किलोग्राम गोरुको मासु बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार मासु बरामद भएको कोठाबाट करिब १ दशमलव ५ किलोमिटर उत्तरतर्फ रहेको खेतमा गोरु काटिसकेपछि मासुबाहेकका अन्य भागहरू माटोमा गाडिएको अवस्थामा फेला परेको थियो । घटनास्थलबाट छाला पोल्ने गनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्री र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । घटनाको थप अनुसन्धान तथा मुचुल्काका लागि प्रहरी निरीक्षक धिरजकुमार पटेलको कमाण्डमा SOCO अधिकृतसहित पाँच जनाको प्रहरी टोलीसमेत घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइनेमा बर्दिया राजापुर नगरपालिका–२ का करिब ३० वर्षीय रमेश चौधरी, सिन्धुली हरिहरपुरगढी गाउँपालिका–४ का २२ वर्षीय सोमराज तामाङ र काभ्रेको महाभारत गाउँपालिका–२ घर भई हाल बनेपा नगरपालिका–१ टुकुचा बस्ने ६० वर्षीय ज्ञानबहादुर मोक्तान रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २१, आईतवार १९:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP