काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित विभिन्न जिल्लामा नेपाली सेनाले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्रता दिएको छ । सेनाले भदौ २१ गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार गरेको जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत ३ हजार ९७५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६९८ जना नेपाली र २७७ जना विदेशी नागरिक रहेका छन् ।
तादी नदीमा पुल निर्माण तीव्र
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ । बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको सेनाले जनाएको छ ।
जलविद्युत आयोजनाका टनेलमा खोजी जारी
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाको कम्पोजिट क्विक रियाक्सन टिम (Composite Quick Reaction Team) तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोज तथा उद्धार कार्यमा जुटेको छ । त्यस्तै, त्रिशूली–३ ‘ए’ आयोजनाको पावरहाउस तथा टनेल क्षेत्रमा नेपाली सेनाको टोलीले उद्धार उपकरणसहित निरन्तर खोजी गरिरहेको छ ।
त्रिशूली–३ ‘बी’ आयोजनामा अडिट–२ बाट प्रवेश गरेको टोली अडिट–१ बाट बाहिरिएको छ । अडिट–२ टनेलबाट एक्साभेटर लैजान सकिने गरी बाटो सफा गर्ने काम भइरहेको छ । हालसम्म त्यहाँबाट कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ । चिलिमे हाइड्रो आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र मड पम्पको प्रयोग गरी टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ । हेलिकप्टरबाट स्याफ्रुबेंसीमा झारिएको एक्साभेटरलाई टनेल क्षेत्रमा लैजाने कार्यसमेत भइरहेको छ । त्यसैगरी, माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी टनेलभित्र थप खोजी गरिरहेको छ ।
मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्ती
जमिनतर्फ पनि नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रअन्तर्गत मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्ती गरी सम्भावित जोखिमयुक्त स्थानमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ । यसैगरी, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
९ हजार ३०० भन्दा बढी सैनिक परिचालन
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाका टोलीले सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावित व्यक्तिको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् । विपदबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गर्दै आएको जनाएको छ।— कालोटोपी डटकम
प्रतिक्रिया