काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा बुधबारदेखि भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएकाे छ । शाखाको उद्घाटनसँगै पहिलो सेवाग्राहीलाई नगर प्रमुख कुनसाङ लामाले खादा लगाई स्वागत गर्दै सेवा प्रवाहको औपचारिक शुभारम्भ गर्नुभयो । अब जग्गाको स्वामित्व हस्तान्तरण, नामसारीलगायत भूमि प्रशासनसम्बन्धी सेवा लिन सदरमुकाम धुलिखेल तथा अन्य कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यससँगै नगरवासीले जग्गासम्बन्धी विभिन्न प्रशासनिक सेवा आफ्नै पालिकाबाटै प्राप्त गर्ने भएका छन् ।
नमोबुद्ध नगरपालिकाको प्रशासकीय भवन, भकुण्डेबेशीमा बुधबार भूमि व्यवस्थापन शाखाको समुद्घाटन गरिएको हो । स्थानीय तहलाई भूमि प्रशासनसम्बन्धी अधिकार हस्तान्तरण भएसँगै साविक मालपोत कार्यालय तथा नापी कार्यालयबाट प्रदान हुँदै आएका विभिन्न भूमि प्रशासनसम्बन्धी सेवा क्रमशः स्थानीय तहमार्फत नै उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको हो । सोही क्रममा नमोबुद्ध नगरपालिकाले पनि भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा नगर प्रमुख लामाले स्थानीय नागरिकलाई सहज, सरल र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले नागरिकले सामान्य जग्गासम्बन्धी कामका लागि समेत टाढा रहेका कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘सरकार नागरिकको घरदैलोमै’ भन्ने अवधारणाअनुसार सेवा प्रवाहलाई स्थानीयस्तरमै विस्तार गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
नगर प्रमुख लामाले भन्नुभयो, “भूमिसम्बन्धी सेवा लिन नागरिकले अब सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । आफ्नै नगरपालिकाबाट सेवा पाउँदा नागरिकको समय, श्रम र खर्च बचत हुने विश्वास लिएका छौँ । सेवा प्रवाहलाई अझ व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउँदै लैजान नगरपालिका प्रतिबद्ध छ ।” भूमिसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ । यसअघि सामान्य जग्गा प्रशासनसम्बन्धी कामका लागि समेत लामो दूरी तय गरी सम्बन्धित कार्यालय पुग्नुपर्ने बाध्यता थियो । अब त्यस्ता सेवाहरू आफ्नै पालिकाबाट प्राप्त गर्न सकिने भएपछि सेवाग्राहीको समय र आर्थिक भारसमेत कम हुने भएको छ ।

काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने क्रम अघि बढिरहेका बेला नमोबुद्ध नगरपालिकामा पनि यो सेवा सुरु भएको हो । यसले जिल्लाका ग्रामीण तथा दुर्गम भेगका नागरिकलाई राज्यका सेवा सुविधा उनीहरूकै नजिक पुर्याउने प्रयासलाई थप बल पुगेको छ । भूमि व्यवस्थापन शाखाको उद्घाटन कार्यक्रममा सेवाग्राही, नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले शाखामार्फत प्रदान हुने सेवाहरूलाई प्रभावकारी, सहज र पारदर्शी बनाउँदै नागरिकलाई झन्झटरहित सेवा उपलब्ध गराउने जनाएको छ ।
प्रतिक्रिया