काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बनेपा ब्वाईज क्लब (बीबीसी) र मातृसंस्था टिम बीबीसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ७ हजार ९१२ सहयोग गरेको छ ।
क्लबको आह्वानमा क्लबका सदस्य, साथी तथा शुभचिन्तकसहित ३२ जना दाताबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्लबले जनाएको छ । क्लबले विपदमा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको विपद् कोषमार्फत उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो ।
बनेपा ब्वाईज क्लबका अध्यक्ष महेशकुमार कर्माचार्य र टिम बीबीसीका संस्थापक संयोजक तथा संयोजक सुशील राजबंशीले सहयोग रकम उपलब्ध गराउने सम्पूर्ण दाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँहरूले विपद्को समयमा मानवीय सेवाभावका साथ सहयोगमा जुट्नु सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग तथा सामाजिक सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
क्लबले “मानवीय सेवामा हाम्रो सानो सहयोग, विपद्मा परेकाहरूका लागि ठूलो सहारा” भन्ने भावनासहित भोटेकोशी बाढी प्रभावित परिवारको राहत तथा सहयोग अभियानमा सहभागी हुने सबैप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।
प्रतिक्रिया