काठमाडौँ । बडादशैँको अवसरमा सर्वसाधारणको सहज आवतजावत र यात्रामा सुविधा पुर्याउने उद्देश्यले नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक ३ गते र कात्तिक ४ गते गरी दुई दिन निःशुल्क बस सेवा सञ्चालन हुनेछ । काठमाडौँ उपत्यकाभित्र तीनवटा रुटमा बस सञ्चालन गरी यात्रुहरूलाई सेवा उपलब्ध गराइने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुट नम्बर १ अन्तर्गत नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, टिचिङ, चक्रपथलगायत क्षेत्र समेटिएका छन् ।
त्यस्तै, रुट नम्बर २ अन्तर्गत सूर्यविनायक, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रत्नपार्कलगायत क्षेत्र हुँदै बस सञ्चालन हुने व्यवस्था गरिएको छ । रुट नम्बर ३ मा नारायण गोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु–कलंकी, बालाजु चोक, सोह्रखुट्टे, नयाँ बसपार्क, महाराजगञ्जका विभिन्न क्षेत्र समेटिएका छन् ।
प्रकाशित सूचनाअनुसार कात्तिक ३ गते दिउँसो ४ बजेपछि पहिलो सिफ्ट र कात्तिक ४ गते बिहान ८ बजेपछि पहिलो सिफ्ट सञ्चालन हुनेछ । दुवै दिन दिउँसो ३ः३० बजेपछि दोस्रो सिफ्ट सञ्चालन हुने उल्लेख छ ।
बडादशैँका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने समयमा प्रहरीले सञ्चालन गर्न लागेको निःशुल्क बस सेवाबाट सर्वसाधारणलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया