काठमाडौँ । पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले एसिया कपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि आफ्नो नाममा पारेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४७ लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । भारतका लागि तिलक बर्माले ६९ रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४६ रन बनाएको थियो । पाकिस्तानका लागि सहिबजादा फ्रहानले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
भारतीय टिमले एसिया कपको उपाधि लगातार दोस्रोपटक जितेको छ । सन् २०२३ मा एक दिवसीय प्रणालीमा श्रीलंकालाई हराएको भारतले यसपाली चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा हराउँदै उपाधि जितेको हो । एजेन्सी
प्रतिक्रिया