काठमाडौँ । देशका विभिन्न ठाउँमा भएकाे वर्षासँगै पहिरोका कारण विभिन्न राजमार्गहरूमा यातायात आवागमन ठप्प भएको छ।
नेपाल प्रहरीको सोमबार बिहान ६ः४० बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी र बागमती प्रदेशका १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्।
कोशी प्रदेशअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला, मकालु गाउँपालिका–३ एकुवा, र मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग बन्द छ। त्यस्तै, ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा सिद्धिचरण लोकमार्गमा समेत आवागमन रोकिएको छ।
धनकुटाको पाख्रीबास दिकुरे, साँगुरीगढीको चनौटे र ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग र कोशी राजमार्ग दुबै अवरुद्ध रहेका छन्। इलाम नगरपालिकामा मेची राजमार्ग पनि वर्षाका कारण पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा पनि धेरै सडक खण्ड प्रभावित भएका छन्। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ र ५ स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु राजमार्गमा विभिन्न स्थानमा पहिरो खसेर सडक पूर्णरूपमा बन्द भएको छ।
त्यस्तै, सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरे क्षेत्रमा अवरुद्ध भएको मदन भण्डारी राजमार्ग भने आंशिकरूपमा सुचारु गरिएको छ। तर सोही जिल्लाको फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बिपी राजमार्ग अझै पूर्णरूपमा बन्द छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र वरपरका क्षेत्रहरू, काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गा, मकवानपुरको भिमफेदी र बकैया क्षेत्र, तथा दक्षिणकाली–काठमाडौं खण्डको सिस्नेरी बजार क्षेत्र (इन्द्रसरोवर गाउँपालिका–३) मा पनि सडक अवरुद्ध भएको जानकारी प्रहरीले दिएको छ।
नेपाल प्रहरीले देशभरका पहाडी सडक खण्डमा अझै पनि पहिरोको उच्च जोखिम कायम रहेको जनाउँदै यात्रु र सवारी चालकहरूलाई सचेत रहन आग्रह गरेको छ। अहिले ती स्थानमा सडक खुलाउने प्रयास जारी छ ।
प्रतिक्रिया