काभ्रे । काभ्रेको पाँचखाल घर भएका १९ वर्षीय देबेन्द्र तामाङको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीस्थित इन्द्रावती नदीमा टिपरले च्याप्दा मृत्यु भएको छ । घटनापछि चालक भने फरार छन् ।
प्राप्त जानकारी अनुसार गएराति करिब ९ बजेको समयमा नदी क्षेत्रमा दुई वटा टिपरको बीचमा परेर तामाङको ज्यान गएको हो । घटनापछि उनको शव धुलिखेल अस्पतालमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार तामाङ रातिको समयमा नदीबाट बालुवा झिक्ने कार्यमा संलग्न रहेका बेला टिपरको चपेटामा परेका थिए । घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्मरणीय छ, इन्द्रावती नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न कानुनीरूपमा प्रतिबन्ध रहेको छ । तर स्थानीय प्रशासनको निगरानीलाई छल्दै केही समूहले रातिको समयमा नदीबाट बालुवा तथा अन्य नदीजन्य सामग्री उत्खनन गरी अवैध ओसारपसार गर्ने गतिविधि निरन्तर सञ्चालन गर्दै आएको स्थानीयवासीको गुनासो छ ।
यस घटनाले अवैध उत्खनन र नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा सम्बन्धित निकायको प्रभावकारी अनुगमन तथा कारबाही आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिक्रिया