• २०८३ असार ३१ | Wed, 15 Jul 2026

फागुनमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

फागुनमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले फागुन अन्तिम साताका लागि घोषित प्रतिनिधिसभाको चुनावसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको छ। आयोगको कार्यतालिकामा आसन्न प्रतिनिधिसभा चुनावका विभिन्न गतिविधिहरू समाविष्ट छन्।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलकारीको मागबमोजिम प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेकी थिइन्। संसद् विघटन भएपछि त्यसैअनुरूप फागुन २१ गते निर्वाचनको मिति तय भएको हो।

आमनिर्वाचन आउन १५० दिन बाँकी छँदा आयोगले उक्त कार्यतालिका सार्वजनिक गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले जुनसुकै हालतमा निर्धारित समयसीमाभित्रै चुनाव सम्पन्न गराई जननिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पने बताउँदै आएकी छन्।

के कहिले गर्न पाइने ?
कार्यतालिका अनुसार मङ्सिर १ गतेदखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गराउने समय तोकिएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने आयोगले जनाएको छ।

फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न दिइने आयोगको कार्यतालिका छ। त्यसपछि प्रचारप्रसार गर्न पाइने छैन। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने आयोगले जनाएको छ।

मतदाता नामावली सङ्कलन
अध्यादेशमार्फत्‌ ऐनमा संशोधन गरिएपछि निर्वाचन आयोगले अहिले मतदाता नामावली सङ्कलन गरिरहेको छ। चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्न नपाइने व्यवस्थामा परिवर्तन गरी अध्यादेश ल्याइएको हो।

कार्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन जारी रहने आयोगले जनाएको छ। उसका अनुसार विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउनेछन्।

सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सकिने अधिकारहरू बताउँछन्। निर्वाचन आयोगको वेबसाइटमामा आवेदन भरी प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूमा बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्ने हुन्छ।

निर्वाचन सामग्रीको अवस्था
मतदान सामग्री व्यवस्थापन मार्गदर्शन २०७८ अनुसार निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रहरूमा विभिन्न ६२ थरीका सामान पुर्‍याउनु पर्ने हुन्छ।

त्यसभित्र मतदाता नामावली, मतपेटिका, मतपत्र, सियो, मसी लगायतका सामानहरू पर्छन्। निर्वाचन आयोगका अधिकारीहरूले बताएअनुसार आउँदो चुनावका लागि आवश्यक पर्ने मतपेटिका अहिले आयोगसँग उपलब्ध छ ।

अधिकारीहरूका अनुसार निर्वाचन आयोगसँग ४३ लिटर, ८० लिटर र ८५ लिटर क्षमताका मतपेटिका रहेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ मतदान गर्न फरकफरक मतपेटिकाको व्यवस्था गरिँदै आएको छ। विगतमा नेपालले चीन, जापानलगायत देशबाट मतपेटिका खरिद गरेको इतिहास छ।

याे सामाग्री हामीले बीबीसीबाट लिएका हाैं



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २०, सोमबार १२:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP