• २०८३ भाद्र ५ | Fri, 21 Aug 2026

काठमाडौँ महानगरका सबै वडामा नि:शुल्क स्वास्थ्य सेवा दिएका छाैंः मेयर साह

काठमाडौँ महानगरका सबै वडामा नि:शुल्क स्वास्थ्य सेवा दिएका छाैंः मेयर साह

काठमाडौँ। आफू निर्वाचित भएको पहिलो दिनदेखि नै “स्वास्थ्य सबै नागरिकको अधिकार हो” भन्ने विश्वासका साथ अघि बढिरहेकाे काठमाडाैँ महानगरका मेयर बालेन्द्र साहले बताएका छन् ।

विश्वासका आधारमा आज काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरू स्थापना गरि नियमितरूपमा सेवा दिइँदै आइएको उनले बताएका छन् ।

तीमध्ये १० वटा केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पनि लागू भइसकेको छ। पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ पूर्वाधार विकासमा जोड दिइयो । त्यसपछि २०८०/८१ मा १ लाख २४ हजार ४४ जना नागरिकले सेवा लिए भने २०८१/८२ मा यो संख्या बढेर १ लाख ९४ हजार १९३ पुगेको छ । चालु आर्थिक वर्षको श्रावण र भदौ महिनामा मात्र ४१ हजार ९७१ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिइसकेका छन्, जसको आधारमा यो वर्ष कम्तीमा २ लाख ५० हजार नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अनुमान गरिएको उनले बताए ।

महानगरका स्वास्थ्य केन्द्रहरूमा MBBS चिकित्सकमार्फत हरेक दिन नियमित उपचार सेवा दिइँदै आएको छ भने निश्चित तालिकाअनुसार विशेषज्ञ चिकित्सक सेवा पनि सञ्चालन हुँदै आएको छ । शहरी स्वास्थ्य प्रवर्धन केन्द्रबाट सम्भव नभएका उपचारका लागि सेवाग्राहीलाई सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गरिन्छ । यसरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महानगरले स्वास्थ्य बीमा, निःशुल्क उपचार, रेफरल सेवा र विशेषज्ञ सल्लाह सबै एकीकृतरूपमा अघि बढाएको छ ।

मेयर साहले भनेका छन्, ‘हामी विश्वास गर्छौँ, स्वास्थ्यमा लगानी भनेको नागरिकको जीवनमा लगानी हो। त्यसैले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै नलागोस् भन्ने सोचका साथ महानगरले ‘आरोग्य जीवन स्वर्णिम योजना’ मार्फत प्रतिरोधात्मक स्वास्थ्य सेवामा पनि जोड दिएको छ। यस योजनाअन्तर्गत विद्यालय स्वास्थ्य शिक्षा, जनचेतना कार्यक्रम, मानसिक स्वास्थ्य, दीर्घरोग तथा सरुवा रोग नियन्त्रण, योग र आयुर्वेद सेवा, पोषण कार्यक्रम र खोप अभियान जस्ता कार्यक्रम नियमित रूपमा सञ्चालनमा छन् । स्वास्थ्य केन्द्रहरूमा २५० भन्दा बढी किसिमका निःशुल्क औषधि, प्रयोगशाला र रेडियोलोजी सेवा, फिजियोथेरापी र मातृत्व सेवा उपलब्ध छन् । साथै एकीकृत एम्बुलेन्स सेवा पनि तुरुन्तै उपलब्ध छ । हामी विश्वस्त छौँ— उपचार नपाएर अब कसैले ज्यान गुमाउनुपर्ने छैन। निःशुल्क स्वास्थ्य सेवा तपाईंको हक हो, र त्यसलाई सुनिश्चित गर्नु हाम्रो प्रतिबद्धता हो।’



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २८, मंगलवार १३:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP