• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

मौसम अपडेटः देशका मध्य र पूर्वी भूभागमा झरी लम्बियाे

मौसम अपडेटः देशका मध्य र पूर्वी भूभागमा झरी लम्बियाे

काठमाडाैँ । काठमाडौँसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। मौसमी पूर्वानुमानका तीन वटा मोडेल (सुत्रहरु) को संयुक्त अध्ययन अनुसार बागमती, गण्डकी र मधेसका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन।

मुख्य कारणहरू
मोन्था आँधी बिहीबारदेखि कमजोर भएपछि, सोमबारदेखि सक्रिय रहेको (तर नबाहिरिएको) पश्चिमी वायुसँग यसको मिश्रण भई एक ठूलो संयुक्त प्रणाली बनेको छ, जसले व्यापक क्षेत्र ढाकेको छ ।

यो प्रणाली गए रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भए पनि, बंगालको खाडी नजिकै थाइल्याण्डको दक्षिणी भू-भागमा निर्मित र हाल बङ्गलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा (उत्तर-पश्चिमतर्फ) धकेलिएकाे छ ।

यसैबीच, अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको छ। अत: अहिले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको दबाव परेको अवस्था छ, जसका कारण वर्षा गराउने बादलको ठूलो हिस्सा अहिले गण्डकी-बागमती-कोशी क्षेत्रमा “टसमस” नगरी बसेको छ र लगातार वर्षा भइरहेको छ । हावामा जलवाष्पको मात्रा अत्यधिक भएको हुँदा वर्षा रोकिएको बेला पनि शीत परे जस्तो मसिना पानीका कण झरिरहेका छन् ।

अब के हुन्छ ?
यस्तो अवस्थामा हल्का झरी मात्रै पर्ने र ठूलो वर्षा हुँदैन । त्यसैले बाढीको जोखिम भने अत्यन्त न्यून हुन्छ । धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकाले अब यो प्रणाली कतिबेर रहन्छ भन्न त्यति सजिलो भने छैन । तर बादलको घनत्व घट्ने क्रममा रहेकाले अबको १२ घण्टामा मौसममा उल्लेख्य सुधार आउनु पर्ने हो । साँझसम्म वर्षा पूर्णरुपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना भने धेरै रहेकाे माैसमविद् उज्वल उपाध्यायले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १५, शनिबार ०५:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP