बनेपा । हलिं नेवाः गुथिले आगामी पौष १३ गते नवमी तिथीका दिन १६ औं नेवाः एकता दिवस मनाउने भएको छ ।
ने.सं.११४६ पहेंलाथ्व नमीः का दिन यो दिवस मनाइने गरिन्छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको हलिं नेवाः गुथि, नेवाः एकता दिवस मुल समारोह समितिका अध्यक्ष जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका तत्कालिन सात गाउँ बनेपा, नाला, साँगा, धुलिखेल, खड्पु, चौकोट र पनौतीका नेवार संस्कृति र सम्पदाको जगेर्ना गर्ने उद्देश्यले दिवस मनाउन लागिएको उहाँले बताउनुभयो ।
यस अवसरमा जिल्लामा हलिं नेवाः एकता धिमे बाजासहितको र्याली र नेवारी भोज कार्यक्रमको आयोजना गरिनेछ । विगत ४ वर्षदेखि जिल्लामा यस्ता कार्यक्रमहरु आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।
नेवाः एकता दिवसका सन्दर्भमा जानकारी दिन गुथिले मंगलबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा हलि नेवाःगुथि भ्वाँत दे कचाःका नायो रामकाजी प्रधान, हलिं नेवाः गुथिका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, हलिं नेवाः गुथि महिला समिति अध्यक्ष अल्का जोशी, सम्पदा संरक्षणमा सक्रिय युवा भिषण मधिकर्मी लगायतले नेवाः एकता दिवसका बारेमा जानकारी गराएका थिए ।
नेवारी संस्कृति, परम्परा तथा नेवारी समुदायभित्रका विभिन्न मौलिकता जोडिएका विषयलाई एकता दिवसका अवसरमा थप परिस्कृत र संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
प्रतिक्रिया