सिन्धुपाल्चाेक । नेपाल टेलिकम पाँचखालको गाडी मेलम्चीका युवाहरूले नियन्त्रणमा लिएका छन्। प्रयोगविहीन अवस्थामा रहेका पोलहरूबाट नेपाल टेलिकमको तार हटाई बजारलाई सुन्दर बनाउने युवाहरूको अभियानमा साथ नदिएको भन्दै युवाहरुले गाडी नियन्त्रणमा लिएका हुन् ।
पटकपटकको अनुरोधलाई नमानेको र नेपाल टेलिकमका प्रतिनिधि आउने र निरीक्षण गरेर फर्किने मात्रै भएकाले गाडी नियन्त्रणमा लिई काम नसकिएसम्म नछाड्ने युवाहरुले बताएका छन् । अहिले प्रहरीले छलफल गरिने भनेर गाडी बुझि लगेको छ ।
पछिल्लो समय मेलम्ची युवा समूहले मेलम्ची बजारलाई सुन्दर बनाउन विभिन्न कामहरू गर्दै आइरहेको छ। बजारको सरसफाई अव्यवस्थित तारहरू हटाउने लगायतका कामहरु भइरहेका छन् ।
नेटवर्कमा खराबी आइरहने र मेलम्चीमा सम्पर्क व्यक्ति अथवा कार्यालयसम्म नराखेर जनतालाई हैरान बनाएको युवाहरूले बताएका छन् । पटकपटक तार हटाउन गरेको अनुरोधलाई पनि अस्वीकार गरेपश्चात गाडी नै नियन्त्रणमा लिई काम नसकिएसम्म नछाड्ने युवाहरुले बताएका छन् ।
प्रयोगविहीन तारहरू हटाई प्रयोगमा रहेका तारहरूलाई व्यवस्थित गर्नुपर्ने मेलम्ची युवा समूहको माग रहेको छ। त्यस्तै बत्ती जाने बितिकै नेपाल टेलिकमको टावर जाने समस्या समाधानका लागि पनि स्थानीयले माग गरेका छन् ।
#भुल सुधारः यसअघि समाचारमा बनेपाकाे गाडी भनिएकाेमा गाडी पाँचखालकाे रहेकाे बुझिएकाले क्षमायाचनासहित भुल सुधार गरिएकाे छ । -सम्पादक
प्रतिक्रिया