सिन्धुपाल्चोक । जिल्लाकाे हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा चार दिनसम्म चलेकाे बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ।
हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय,फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रद्वारा संचालित सिन्धु स्वास्थ्य परियोजनाको ४ जना विशेषज्ञ डाक्टर सहयोग र ग्रेस बब्तिस चर्च ताईवानको सहयोगमा स्वास्थ्य शिविर भएको हाे।
जसमा ९३७ जनाले सेवा लिएका छन् । शिविरमा दन्त सेवा लिने ३८५ जना, स्त्री रोगकाे सेवा लिने १७४ जना, छाला रोगकाे सेवा लिने ६२ जना र सामान्य जाँच सेवा ३१६ जनाले लिएका छन् ।
शिविरको गत साेमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उद्घाटन गर्नुभएकाे थियाे । साे अवसरमा उहाँले गाउँगाउँमा स्वास्थ्य सुविधा प्रदान गर्न पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

शिविरमा दाँत, बाल रोग, स्त्री रोग, छालासम्बन्धी र जनरल सबै रोगको परिक्षण तथा उपचार, निःशुल्क औषधि वितरण तथा परामर्श दिइएकाे थियाे । शिविरमा ताईवानका वरिष्ठ डाक्टर तथा नेपाली डाक्टरहरुले बिरामीको परिक्षण गरेका हेलम्बु इसाई समाजका अध्यक्ष सानुकान्छा तामाङले जानकारी दिनुभयो ।
पहिलो दिन १२५ जना भन्दा बढी बिरामीले सेवा लिएका थिए । चार दिने शिविर समापनका अवसरमा पालिकाका प्रमुख प्रसासकीय अधिकृत बेनीबहादुर मोक्तानले यस्ता कार्यक्रम फेरि फेरि पनि संचालन गर्न सके समुदायमा निकै फाइदा पुग्नेमा जोड दिनु भयो । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णमा हेलम्बु गाउँपालिका तथा स्वास्थ्य शाखाको तर्फबाट शाखा प्रमुख मुकेश भट्टराईले धन्यवाद व्यक्त गर्नुभयाे ।
प्रतिक्रिया