सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकाको नवौं अधिवेशन सम्पन्न भएकाे छ । आज सकिएकाे अधिवेशनले गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव पारित गरेकाे छ ।
इन्द्रावती गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न कार्यक्रममा शिक्षा, सडक, सिंचाइ, खानेपानी जग्गा वर्गीकरण पूर्वाधार लगायतका विषयमा शून्य समयमा गाउँसभा सदस्यहरुबाट आएका प्रश्न सल्लाह र सुझावको रुपमा आएका कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै पालिका अध्यक्ष झम्क नेपालले जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै जग्गा वर्गीकरणको बारेमा उठेका प्रश्नहरुको सभाका सचिव तथा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मनहरि बरालले जवाफ दिनुभएको थियो ।
अधिवेशनमा उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गर्नुभएको आ.व. २०८२/०८३ का लागि गाउँपालिकाको संशोधित बजेट, प्रवक्ता शशिनाथ आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक कार्यबिधी तथा बित्तीय उत्तरदायित्व विधेयक २०८२, बिधायन समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सभामा प्रस्तुत गर्नुभएको केही स्थानीय ऐन संशाेधन गर्न बनेको बिधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियाे ।
यस्तै सामाजिक विकास समिति संयोजक वडा नम्बर ७ का अध्यक्ष रबिन्द्रकुमार खातीले प्रस्तुत गर्नुभएको बेरुजु फर्स्यौट कार्यबिधी २०८२, लेखा समिति संयोजक तथा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको लेखा समिति गठन तथा कार्यालय सञ्चालन कार्यबिधी २०८२, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव मनहरि बरालले प्रस्तुत गर्नुभएको आर्थिक ऐन संशोधन गर्न बनेको विधेयक, न्याय समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले प्रस्तुत गर्नुभएको इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउनेसम्बन्धी प्रस्ताव नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा भएको हुनाले यो प्रस्ताव सभासमक्ष निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

सभाको अन्त्यमा सभामा प्रस्तुत विषयमा राय सुझाव लिइएको थियो । साथै लिखितरुपमा राय सुझाव पनि दिन सकिने सभा अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । कार्यक्रममा नेपाल आइडल सिजन छैटाैँकी विजेता इन्द्रावती गाउँपालिकाकी गंगा सोनाम, नेपालका ७७ वटै जिल्ला साइकल यात्रामार्फत भ्रमण गर्न सफल माधव कुइँकेल र दिपेन्द्र सोनामलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियाे ।
सम्मान कार्यक्रममा गंगा सोनामले आफ्नो प्रस्तुति दिनुभएको थियो भने पालिका अध्यक्ष झम्क नेपालले इन्द्रावतीले नेपाल आइडल जित्नु भनेको गर्वको विषय भएको बताउनुभयो । उहाँले यस सम्मानले कलाकारहरुलाई अगाडि बढ्न अझै धेरै प्रेरित गर्ने अपेक्षासमेत व्यक्त गर्नुभयाे ।
प्रतिक्रिया