ढुंखर्क । काभ्रेकाे बेथानचोक गाउँपालिकाले आफ्नै कोशेली घर संचालनमा ल्याएको छ । भदौ ८ गते वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले यसको उद्घाटन गर्नुभएको हो । यससँगै बेथानचोकका उद्यमी महिलाहरु आफूले उत्पादन गरेका सामाग्री कोशेली घरबाट बेच्न पाउने भएपछि खुशी भएका छन् ।
कोशेली घर के हो ?
हरेकजसो पालिकाहरुले आफ्नो पालिकामा महिलालक्षित विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छन् । विशेषगरि महिलाहरुलाई आत्मनिर्भर बनाउने र उनीहरुलाई सीप सिकाउँदै स्वरोजगार बनाउने उद्देश्यले यस्ता व्यवसायतर्फ प्रेरित गराउने उनीहरुको लक्ष्य छ । सीप त सिक्यो, उत्पादन पनि गर्यो तर उत्पादित सामाग्रीहरुको बजार छैन । घरमा उपयोग गरेर सम्भव पनि छैन र बजार लैजान गाउँका महिलाका लागि धेरै समस्या पनि छन् । त्यसो भए के गर्ने त, यो समस्याको समाधानका लागि कोशेली घर जन्मिएको हो ।
काभ्रेको बेथानचोक गाउँपालिकाले पनि आफ्ना ६ वटै वडामा रहेका महिलाहरुका लागि धेरै कार्यक्रमहरु ल्याएको छ । ढाकाका कपडा बुनाइ, बाँसका सामान बनाउने तालिम, सिलाईबुनाईदेखि कृषिका विभिन्न आयामहरुका कार्यक्रम पनि संचालन गरिरहेको पालिकाले अब यही कोशेली घरबाट ती उत्पादित सामानहरु बेच्न सक्ने व्यवस्था गरेको छ । उद्यमीहरुले सामानहरु पालिकालाई बेच्न दिएर बजारको समस्या समाधान हुने विश्वास गरिएको छ ।

बेथानचोकका ६ वटै वडामा गृहिणी महिला सशक्तिकरण कार्यक्रम लागू भएको छ । प्रदेशकै कार्यविधिमा आधारित रहेर पालिकाले पनि आफ्नो कार्यविधि बनाएको छ । यसमै रहेर कार्यक्रम संचालन गरिने पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बताउनुभयो । २ वर्षदेखि पालिकाले २५० जना महिलालाई सीप विकास तालिम दिइरहेको थियो । अहिले तालिममा सहभागीहरुले उत्पादन पनि शुरु गरिसकेका छन् । हस्तकलालगायतका सामानहरु संकलन गरेर पालिकाले आफ्नै स्रोतमा सामाजिक विकास मन्त्रालयसँग ३० प्रतिशत साझेदारी गरेर यो कार्यक्रम अघि बढाएको हो । पालिकाको लघुउद्यम कार्यक्रमकै कर्मचारीलाई जिम्मेवारी दिएर काम गरिने पनि पालिका उपाध्यक्ष रानाले जानकारी दिनुभयो ।
साबुन, जुत्ता, चप्पल, रैथाने बाली उत्पादन, दुना टपरी, हार्पिक, झोल साबुनलगायत सामान महिलाहरुले उत्पादन गरिरहेका छन् । यसका साथै भारतको हिमांचल प्रदेशमा उत्पादन हुने स्याउ ढुंखर्कमा पनि फल्ने परीक्षणबाट देखिएको छ । त्यसलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले सहयोग गरिरहेको छ । यसले लाखौं युवाहरु रोजगारका लागि विदेश गइरहेको अवस्थालाई केहीहदसम्म भए पनि रोक्न सकिने अपेक्षा गरिएको छ ।
गृहिणी महिलालाई आर्थिक उपार्जनका लागि सहयोग हुने गरि कोशेली घर संचालनमा ल्याइएको गृहिणी महिला सशक्तिकरण कार्यक्रमकी संयोजक अम्बिका खरेलले बताउनुभयो । उहाँले दिनुभएको जानकारीअनुसार बेथानचोकको वडानम्बर १ मा हातैबाट बुन्ने स्वीटर, मोजा, टोपी, गलबन्दीलगायतका सामान बनाउने तालिम प्रदान गरिएको थियो । वडा नम्बर २ मा सर्वोत्तम पिठो, सातु, लिटो बनाउने र बाटेको धुप बनाउने तालिम दिइएको थियो । वडानम्बर ३ मा कोलिन, सरफ, डल्ले साबुन, झोल साबुन, हार्पिक, फिनेल बनाउने तालिम दिइएको थियो । वडानम्बर ४ मा मखमलको जुत्ता, चप्पल र थैली बनाउने वडानम्बर ५ मा सिलाई कटाईको एडभान्स तालिम दिइएको थियो । यस्तै वडानम्बर ६ मा अमिलो जातका फलफूलबाट बनाइने खाद्यसामाग्रीको तालिम प्रदान गरिनुका साथै यस्ता फलफूलका विरुवा पनि वितरण गरिएको थियो ।

यी सबै तालिमबाट सीप सिकेका महिलाहरुले उत्पादन गरेका सामाग्री अब कोशेली घरबाटै बिक्री गरिने हुँदा उद्यमीहरुले बजारको समस्या झेल्नु नपर्ने भएको छ । यहाँ उद्यमीबाट सामान किन्न र कोशेली घरबाट बेच्नका लागि मूल्य पनि निर्धारण गरिएको थियो ।
गृहिणी महिला सशक्तिकरण कार्यक्रम वागमती प्रदेश सरकारको एउटा महत्वपूर्ण कार्यक्रम हो । यो सामाजिक विकास मन्त्रालय अन्तर्गत संचालित छ । गृहिणी महिलाहरुको आर्थिक पक्षसँग जोडिएको यो कार्यक्रमले उनीहरुलाई थोरै भए पनि आत्मनिर्भर बनाउने सामाजिक विकास कार्यालय काभ्रेकी प्रमुख रनमाया फ्याकले जानकारी दिनुभयो । यो कार्यक्रम संचालन गर्न इच्छुक पालिकाहरुले प्रदेश सरकारसँग लागत साझेदारी गर्नुपर्छ । जसमा न्यूनतम १५ प्रतिशतदेखि बढीमा जति पनि गर्न सकिनेछ । यसमा बेथानचोकले भने ५० प्रतिशत लगानी गरेको छ । यहाँ वागमती प्रदेश सरकार र पालिकाको गरि गत आर्थिक वर्षमा ३६ लाख ४२ हजार ५७० रुपैंयाँको लगानी साझेदारी भएको छ ।
कुनै व्यक्तिले व्यवसाय गर्न चाहेमा १५ हजार र समूहले गर्न चाहेमा १ लाखसम्म सहयोग गर्न सक्ने प्रदेशको कार्यविधिमा रहेको छ । यसमा पनि ८५ प्रतिशत प्रदेश र १५ प्रतिशत पालिकाले सहयोग गरि लागत साझेदारी गर्नुपर्ने उल्लेख छ । यसरी सीप सिकेर धेरै महिलाहरुले व्यवसाय पनि शुरु गरिसकेका छन् ।
कार्यक्रममा के भने पालिका अध्यक्ष भगवान अधिकारीले ?
गत वर्ष असोजको विपदबाट बेथानचोक धेरै पीडामा रह्यो । जसले गर्दा हामीले सोचेका जस्ता काम गर्न सकेनौं । बल्लतल्ल पुरानै लयमा फर्किने तयारीमा छौं तर धेरै चुनौती छन् । अहिले हामीले नयाँ मन्त्री पाएका छौं । त्यसमा पनि आफ्नै प्रदेशका सांसद मन्त्री भएकाले पनि हामीले धेरै आशा गरेका छौं । हामीले अहिले धेरै काम त गरेका छौं तर बजेटको अभाव छ । अब काम गर्न पैसा छैन । यस्तो अवस्थामा हामीले मन्त्री ज्यूबाट सहयोगको धेरै अपेक्षा गरेका छौं । सबैको साझा दायित्व हो पालिका बनाउने, सकेको सहयोग गरेर अघि बढौं । हामी अरु नयाँ काम गर्न तयार छौं तर धेरै अप्ठ्यारा छन् । ती अप्ठ्यारालाई सहजीकरणका लागि सबै मिलेर अघि बढ्नु आवश्यक छ । अहिले हामीले कोशेली घर संचालन गरेका छौं तर यो भाडाको घरमा छ । यसलाई आफ्नै भवनमा सार्नसके धेरै सजिलो हुन्थ्यो । यसमा मन्त्रीज्यूले सहयोग गर्नु हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

उद्घाटन गर्न पुगेका सामाजिक विकास मन्त्री बादेले के भने ?
वागमती प्रदेशको नयाँ सरकार बनेपछि मैले पाएको सामाजिक विकास मन्त्रालयमा काम गर्न बाँकी नै छ । यस अवधिमा धेरैले सम्मान गर्नुभयो । माया दिनुभयो । यसलाई मैले अब काम गरेर देखाउनु पर्नेछ । यसमा मलाई खुशीको सीमा छैन । बेथानचोकमा शुरु भइरहेको महिला आत्मनिर्भर कार्यक्रम एकदमै प्रभावकारी छ । यसप्रति म पालिका अध्यक्ष, उपाध्यक्षलगायत सबैलाई धन्यवाद दिन चाहन्छु । कोशेली घरमा मैले अवलोकन गरें । धेरै राम्रो लाग्यो । अब यसलाई व्यवस्थित गर्दै निरन्तरता दिने काममा मेरो सहयोग सधैं रहनेछ । यसलाई आफ्नै भवनमा सार्न प्रदेश सरकारले सहयोग गर्नेछ, जग्गाको व्यवस्था गर्नुहोला । पीडालाई अब सामान्य बनाउनुपर्छ । यहाँसम्म आउने सडक पनि बिग्रिएको छ । यसलाई व्यवस्थित बनाउन पनि मैले सक्ने सहयोग सधैं हुनेछ । हामीले सोचेको जस्तो काम सबै एकैपटक हुन पक्कै सक्दैन । विस्तारै गर्नेछौं । सबैलाई धन्यवाद ।

प्रतिक्रिया