• २०८३ असार ३० | Tue, 14 Jul 2026

सौराहामा जुटे वागमती प्रदेशका पत्रकारहरु, संस्कृति र पर्यटन प्रवर्द्धनमा जनाए ‘ऐक्यबद्धता’

सौराहामा जुटे वागमती प्रदेशका पत्रकारहरु, संस्कृति र पर्यटन प्रवर्द्धनमा जनाए ‘ऐक्यबद्धता’

ज्ञानमणि नेपाल कालोटोपी
चितवन । बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा “संस्कृति तथा पर्यटन प्रवर्द्धन एवं प्रचारप्रसारमा सञ्चारकर्मीहरूको भूमिका” विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सोमबार र मंगलबार चितवनको सौराहामा सञ्चालन भएको छ। कार्यक्रममा संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रचारप्रसार, बागमती प्रदेशका सांस्कृतिक एवं पर्यटकीय सम्पदाको संरक्षण तथा विकासका विषयमा विस्तृत छलफल भएको थियो ।

अन्तरक्रियामा बागमती प्रदेशका विभिन्न सञ्चारमाध्यमसँग आबद्ध करिब २५ सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा विषयविज्ञहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव देवेन्द्र सुवेदी, पत्रकार अशोक सिलवाल र देवराज पन्तले सहजीकरण गर्दै संस्कृति र पर्यटन प्रवर्द्धनमा सञ्चारमाध्यमको प्रभावकारी भूमिका, धार्मिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा जिम्मेवार पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिनुभयो । कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ बागमती प्रदेशले गरेको हो । महासंघका अध्यक्ष कृष्णसारु मगरले संस्कृति र पर्यटन क्षेत्रको विकास तथा प्रदेशका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न सञ्चारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । मगरले बागमती प्रदेश कला, संस्कृति र प्राकृतिक सम्पदाले सम्पन्न प्रदेश भएकाले प्रभावकारी प्रचारप्रसारमार्फत पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने धारणा राख्नुभएको थियो ।

मन्त्रालयका सचिव सुवेदीले पर्यटन स्थानीय रोजगारी सिर्जना, आय वृद्धि र समग्र आर्थिक समृद्धिको प्रमुख आधार भएकाले सञ्चार माध्यमले यसको सम्भावना उजागर गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा सरकारले गरेका पर्यटनसम्बन्धी गतिविधि र आगामी वर्षमा गरिने कामहरुका बारेमा जानकारी दिनुभयो । यस्ता कार्यक्रमले सञ्चारकर्मीको क्षमता अभिवृद्धिसँगै प्रदेशको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने उहाँको विश्वास छ। अन्तरक्रिया कार्यक्रमकै अवसर पारेर चितवनका केही सामुदायिक जंगलहरुमा पहिलो पटक सन्ध्याकालिन जंगल सफारी पनि गरिएको थियो । जसमा अधिकांश पत्रकारहरुले नयाँ अनुभव भएको बताएका थिए । जसमा सरोकारवालाहरुले चितवनको पर्यटनमा नयाँ आकर्षण थप्ने उद्देश्यका साथ वरण्डाभार जैविक मार्ग अन्तर्गतका सामुदायिक वन क्षेत्रमा ‘नाइट जीप सफारी’ परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको जनाएका थिए । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै केन्द्रित पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित सन्ध्याकालिन जीप सफारीको अवधारणा अघि बढाइएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्तानले बताउनुभयो ।

रत्ननगर नगरपालिको दक्षिण क्षेत्रभित्र पर्ने पञ्चकन्या सामुदायिक वन, कालिका नगरपालिकाभित्र पर्ने चर्तुमुखी र भीमवली सामुदायिक वनले संयुक्तरूपमा करिब ३० किलोमिटर लामो जंगल मार्ग तयार गरी परीक्षणका रूपमा सन्ध्याकालिन सफारी सुरु गरेका वागमती प्रदेश सरकारका पर्यटन सचिव दिपेन्द्र सुवेदीले बताउनुभयो । उहाँले नेपालमा पर्यटन क्षेत्रमा नयाँ प्रोडक्टका रूपमा सन्ध्याकालिन सफारी लिँदै आफूले लगानी गर्दै अगाडी बढ्ने स्पष्ट पार्नुभयो । वन उपभोक्ता समूहका पदाधिकारीका अनुसार परीक्षण सफल भएपछि यसलाई नियमित पर्यटन गतिविधिका रूपमा सञ्चालन गरिनेछ ।

वरण्डाभार क्षेत्र चितवन राष्ट्रिय निकुञ्जलाई महाभारत क्षेत्रसँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो। प्रभावकारी संरक्षणका कारण यस क्षेत्रमा एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल, बँदेललगायतका वन्यजन्तु सहजरूपमा देख्न सकिने भीमवली सामुदायिव वनका अध्यक्ष मछिन्द्र पाण्डेले बताउनुभयो । रातिको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि अवलोकन गर्न सकिने भएकाले सन्ध्याकालिन सफारी पर्यटकका लागि थप आकर्षण बन्ने अपेक्षा गरिएको छ। सामुदायिक वनहरूले संरक्षणसँगै पर्यापर्यटनलाई प्राथमिकतामा राख्दै जंगलभित्र रहेका तालतलैया मर्मत–सम्भार, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटकमैत्री पूर्वाधार विकासका कामसमेत अघि बढाएका छन् ।

यस अभियानमा बागमती प्रदेश सरकार, स्थानीय पालिका, डिभिजन वन कार्यालय चितवन र क्षेत्रीय होटल संघ सौराहाको सहकार्य रहेको छ । यसलाई चितवनको नयाँ पर्यटन उत्पादनका रूपमा विकास गर्ने तयारी भइरहेको सरोकारवालाले बताएका छन् । पहिलो चरणमा यस क्षेत्रमा बेलुका ५ बजेदेखि ९ बजेसम्म सन्ध्याकालिन जीप सफारी हुनेछ । होटल व्यवसायीहरूले सन्ध्याकालिन सफारीमा पर्यटक लैजाने प्रतिबद्धता जनाएसँगै सामुदायिक वनका पदाधिकारी उत्साहित बनेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १६, मंगलवार २२:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP